Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आइपीएलमार्फत् नेपाललाई चिनाउन प्रयास गर्छु : सन्दीप


0
Shares

काठमाडौं, चैत ५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा बलर सन्दीप लामिछानेले भारतमा शनिबारदेखि सुरु हुने १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटमार्फत् आफूले नेपाललाई चिनाउन भरमग्दूर प्रयास गर्ने बताएका छन् ।

दिल्ली क्यापिटल्सबाट दोस्रोपटक खेल्दै गरेका सन्दीपले आफू टिममा जुनसुकै भूमिकामा रहेपनि नेपालको प्रतिनिधित्व गरेर खेल्ने बताएका हुन् ।

दिल्ली जानुअघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सन्दीपले यसपटक दिल्लीलाई उपाधि जित्ने मौका रहेको बताए ।

टिममा ब्याटिङ र बलिङ राम्रो भएकाले त्यसलाई तालमेल मिलाउन सकियो भने अगाडि बढ्न सकिने सन्दीपको विष्लेषण छ ।

दिल्लीले पहिलो खेलमा चैत १० गते आइतबार मुम्बई इन्डियन्ससित प्रतिस्पर्धा गर्नेछ ।

सन्दीपले गत वर्ष पछिल्ला तीन खेलमामात्र अवसर पाएकामा ५ विकेट लिँदै सनसनी मच्चाएका थिए ।

त्यसयता सन्दीपले विश्वका विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सहभागिता जनाउने अवसर पाउँदै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

सन्दीप बुधबार बिहान दिल्ली जाँदैछन् ।