
-कविराज घिमिरे, ईमेज
दुई वर्षअघि च्याउमा आत्मनिर्भर भई निर्यातको अवस्थामा पुगेको धनकुटामा पछिल्लो समय भने च्याउको उत्पादन प्रायः ठप्प छ ।
दुई वर्षअघि च्याउ उत्पादनमा धनकुटालाई सक्षम बनाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित च्याउ उत्पादन कार्यक्रम अघि सारेको थियो ।
कार्यक्रममार्फत् २० जना युवालाई प्रति व्यक्ति ४० हजार रुपैयाँका दरले आर्थिक तथा प्राविधिक सहयोग गरी तत्कालका लागि च्याउ खेतिलाई व्यवसायिकसमेत बनाइयो ।
जसको फलस्वरुप पहिलो वर्ष नै १० टनभन्दा बढी च्याउ उत्पादन हुँदा जिल्लामा २० लाख रुपैयाँ भित्रिएको कार्यालयले जनाएको छ ।
तर, सो कार्यक्रम सकिएसँगै जिल्लामा च्याउको उत्पादन प्रायः ठप्प बनेको कृषि विकास कार्यालय धनकुटाका बाली संरक्षण अधिकृत छबिलाल घिमिरे बताउँछन् ।
अहिले आहाले र लेगुवामा दुई वटा च्याउ फर्म मात्र सञ्चालनमा छन् । करिब ३ सय ८ वर्गफिट क्षेत्रफलमा गरिएको च्याउ खेतीबाट बार्षिक ८० हजार रुपैयाँ बराबर आम्दानी हुने गरेको छ ।
थोरै क्षेत्रफलमा लगाइएको च्याउबाट मनग्ये आम्दानी हुने भए पनि प्राविधिक ज्ञानको कमी र राम्रो बिउ पाउन नसक्दा व्यवसायिक खेती गर्न नसकिएको किसानको गुनासो छ ।
जिल्ला कृषि विकास कार्यालयले प्राविधिक ज्ञान दिए पनि अन्य पेसाभन्दा बढी मेहनत गर्नुपर्ने, खर्चिलो, बिषादीको असर र एउटै व्यवसायमा धैर्य गर्न नसक्ने किसानको बानीका कारण च्याउ खेतीले व्यवसायिक रुप लिन नसकेको कृषि विकास कार्यालय धनकुटाका कृषि प्राविधिक सूर्यप्रसाद सापकोटा बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्