
प्रधानमन्त्री पुष्पकमल दाहालसँग शनिबार बालुवाटारमा भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको छलफलमा संविधान संशोधनपछि तीन वटै तहको निर्वाचन गर्ने सहमति भएको हो ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव सदनमा अघि बढेसँगै मधेसी मोर्चा निर्वाचनमा जान तयार भएको छ ।
प्रस्ताव अघि बढाएपछि स्थानीय तहको निर्वाचन घोषणा गर्ने सहमति पनि भएको छ । निर्वाचनसम्बन्धी कार्यतालिका निश्चित गर्ने समझदारी पनि भएको नेताहरुले बताएका छन् ।
बैठकमा मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादवलगायत सहभागी थिए ।
मधेसी मोर्चाको दुई दिनसम्म राजधानीमा चलेको बैठकले संविधान संशोधन नगरी चुनाव हुन नदिने निर्णय गरेपछि प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।
सत्तारुढ दलहरुले संसद्मा विपक्षी दलहरुको अवरोधका बाबजुद संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।
एमालेलगायत विपक्षी दलहरुले संशोधन प्रस्तावको विरोध गर्दै करिब एक महिनादेखि संसद् बैठक अबरुद्ध पार्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्