काभ्रे, चैत ३ । काभ्रेको धुलिखेलस्थित थाक्लेभन्ज्याङमा साहसिक पर्यटकीय खेल ‘जिपलाइन’ सुरु भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न अघिल्लो महिनाबाट सुरु गरिएको यो नौलो खेल खेल्न पुग्नेहरुको संख्या दिन–प्रतिदिन बढिरहेको छ ।
साहसिक खेलकारुपमा लिइने जिपलाइनमा धुलिखेलस्थित थाक्लेभन्ज्याङबाट पाँचखालसम्म पुग्न डोरीमार्फत् एक हजार १०० मिटरको दूरी पार गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
समुद्री सतहदेखि एक हजार ३०० मिटरको उचाइबाट सुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र तयार पारिएको छ ।
‘फ्लाइङ’को गति प्रतिघन्टा ६० देखि अघिकतम् ९५ किलोमिटरसम्मको छ । यो दूरी पार गर्न बढीमा डेढ मिनेट लाग्छ ।
डोरीमा झुन्डिएर खेल्न सकिने खेल नेपालका अरु ठाउँहरुमा भएपनि ‘सुपरम्यान’ र जोडी एकैपटक खेल्न सकिने खेल भने पहिलोपटक यहाँ नै सुरु गरिएको हो ।
१३ वर्षभन्दामाथि उमेर समूहकाले खेल्नसक्ने जिपलाइनमा डोरीमामात्र खेल्न सकिने ‘क्लासिक’, डोरीमा झुन्डिएर खेल्न सकिने सुपरम्यान र ‘कपल’ अर्थात् दुईजनापनि खेल्न सकिने गरी तीनथरीका खेल समावेश गरिएको वर्ल्ड वाइड एडभेन्चर प्रालिका सन्चालक केदारबहादुर थापाले जानकारी दिए ।
जिपलाइनमा साना बच्चाहरुका लागिपनि ‘मिनि जिपलाइन’ बनाउन सुरु गरिएको अर्का सन्चालक भूपेश श्रेष्ठले बताए ।
करिब ७ करोड रुपैयाँको लगानीमा अन्तर्राष्ट्रिय मापदन्डअनुसार तयार पारिएको जिपलाइनमा दुईजना भारतीय प्राविधिकले सहयोग पुर्याइरहेका छन् ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनमा जिपलाइनले सहयोग पुग्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनसमेत यसले सहयोग पुर्याउने सन्चालकहरुले विश्वास लिएका छन् ।








प्रतिक्रिया दिनुहोस्