Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


क्षीरेश्वरनाथ नगरपरिषद्को मञ्च भत्काइयो, परिषद् स्थगित


0
Shares

वडा नागरिक मञ्चले वडास्तरबाट छनोट गरी पेस गरेका योजनालाई कटौती गरी अन्य योजना समावेश गरेर परिषद्बाट पारित गराउन खोजिएको भन्दै वडा नम्बर–६ र ७ का बासिन्दाले विरोध गर्दै परिषद्का लागि तयार गरिएको मञ्च नै भत्काएपछि नगरपरिषद् स्थगित भएको हो ।

हाल चालु आव २०७३/७४ को पारित तथा स्वीकृत भइसकेको योजनालाईसमेत हटाइएको हुँदा यस्तो कदम चाल्नुपरेको नागरिक वडा मञ्च–७ का संयोजक सुमित्रादेवी मण्डलले बताइन् ।

नगरपालिकाका कार्यकारी अधिकृत त्रिलोचन नेउपानेले वडा नागरिक मञ्चबाट पेस भइ आएको योजनामध्ये एकीकृत योजना तर्जुमा समितिले प्राथमिकरण गरेका योजनालाई नै आउने आव २०७४/७५ को लागि यस परिषद्मा पेस गरिएको जनाए ।

अधिकृत नेउपानेले चालु आवको योजना कटौती गरिएको स्वीकार गर्दै नगरक्षेत्र पूर्वाधार कार्यक्रम कार्यन्वयनका लागि राजनीतिक दलको सहमतिमा प्राप्त बजेट रु एक करोड ४२ लाख रकममा नगरपालिकाले पनि त्यति नै बराबरको रकम थप्नुपर्ने भएको हुँदा सबै वडाको केही योजना कटाएर यस बजेटमा हाल्ने दलीय सहमतिपछिमात्र यस्तो गर्नुपरेको बताए ।

सो घटनापछि विवाद समाधानका लागि स्थानीय इलाका प्रहरी कार्यालयको पहलमा बसेको सर्वदलीय बैठकले प्रत्येक वडामा गठन भएको वडामञ्चको संयोजक तथा प्रतिनिधिसमेत बसी नगरपालिकाभित्र पेस भएका योजनाउपर छलफल गरी बजेट विनियोजन गरेर नगरपरिषद्मा पेस गरेरमात्र नगरपरिषद्को बैठक बस्ने भएको छ । रासस