२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्रोतसाधन र जनशक्तिको अभावमा थलियो कृषि अनुसन्धान कार्यक्रम (भिडियो)


0
Shares

अलैंचीबालीमा देखिएका समस्या समाधान गर्नकै लागि २०६४ सालमा स्थापना भएको राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रमले स्थापनाको एक दशक वितिसक्दा पनि हालसम्म कुनै काम गर्न सकेको छैन । अलैंची रोग ब्यवस्थापन, नयाँ जात अनुसन्धान र प्रविधि विकासका लागि स्थापना गरिएको सो कार्यक्रमले प्राविधिक, प्रयोगशाला, उपकरणको अभावमा आफ्नो कार्य अघि बढाउन नसकेको हो ।

अनुसन्धान र प्रविधि विकासका लागि कम्तीमा १० हेक्टर जमिन आबश्यक भए पनि कार्यालयको स्वामित्वमा एकआना पनि जमिन छैन । त्यस्तै संयोजक, वरिष्ठ वैज्ञानिक, प्राविधिक अधिकृत अन्य सहयोगी प्राविधिकसहित ३० जनाको दरबन्दी भएको कार्यालयमा १० बर्षदेखि जम्मा ७ जना मात्रै कार्यरत छन् । जसका कारण जिम्मेवारी अनुसारका काम गर्न नसकिएको कार्यक्रमका निमित्त संयोजक बरिष्ठ वैज्ञानिक डा. गोविन्द तिम्सीना बताउँछन् ।

यता रोगकिरा, ढुसिजन्य संक्रमण, जलवायू परिवर्तनका कारण बर्षेनी अलैंचीको उत्पादन घट्दो छ । जसका कारण अलैंची खेती गर्दै आएका कृषक भने समस्यामा छन् । कार्यालय स्थापना भएपछि समस्या समाधान हुनेमा र अलैंची खेती पुनः पुरानै अवस्थामा फर्कनेमा ढुक्क भएका कृषक सोचे अनुरुपको सेवा नपाउँदा निराश बनेका छन् ।

कार्यालयलाई ब्यवस्थित गरी अध्ययन अनुसन्धानलाई प्रभावकारी बनाई अलैंचीमा रहेको समस्या समाधान गर्न स्थानीय कृषकले माग गरेका छन् । एकातिर कृषिप्रधान मुलुकमा कृषिको अनुसन्धान र विकासका लागि खुलेका कार्यालयमा दशकसम्म आवश्यक प्राविधिक जनशक्ति, प्रयोगशाला, उपकरण र भौतिक पूर्वाधार ब्यवस्थापनमा ध्यान नदिंइदा प्रयोगमा आउन सकेको छैन । अर्कोतर्फ रोगकिरा, ढुसीजन्य संक्रमण, जलवायु परिवर्तन लगायतका कारण अलैंची खेती नै संकटमा छ । त्यसैले यसलाई ब्यवस्थित गरी आफ्नो उदेश्य अनुरुपको कार्य अगाडी बढाउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।