३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कांग्रेसद्वारा संसद बैठक अवरुद्ध (भिडियो)


0
Shares

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)

काठमाडौं, असार २२ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

कांग्रेसको अवरोधका कारण सभामुख कृष्णबहादुर महराले संसद बैठक यही असार २५ गतेसम्मका लागि स्थगित गरेका छन् ।

डा. केसीले उठाएका माग पूरा गर्ने र उनको जीवनरक्षा गर्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको कांग्रेसले सो प्रस्तावउपर संसदमा तत्काल छलफल गर्न सत्तारुढ दल सहमत नभएपछि बैठकमा अवरोध गरेको हो ।

कांग्रेसले शुक्रबार नै डा. केसीको जीवनरक्षा गर्न माग गर्दैै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको थियो । तर, कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाए ।

सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँणले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएकाले शुक्रबार नै छलफल गर्नुपर्ने माग गरे ।

सभामुख कृष्णबहादुर महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिँदै सदन सुचारु गर्न आग्रह गरे पनि कांग्रेस तयार नभएपछि बैठक आधा घन्टा स्थगित गरियो ।

तर, दोस्रोपटक बसेको बैठकमा पनि सो प्रस्तावउपर छलफल नभएपछि कांग्रेसले उक्त प्रस्तावमाथि छलफल नहुँदासम्म बैठक नै चल्न नदिने अडान लिएको थियो ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले डा. केसीको स्वास्थ्य र उनले उठाएका माग आमजनतासँग जोडिएको विषय बन्दा पनि सरकार त्यसबारे संसदमा छलफलसमेत गर्न तयार नबन्नु विडम्बना भएको बताए ।

तर, सभामुख महराले भने संसदको अर्को दिनको कार्यसूचीमा सो विषय समावेश गराइने भन्दै विपक्षी दललाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।

कानुनमन्त्री शेरबहादुर तामाङले विपक्षी दलले नियमावलीको व्यवस्थाविपरीत शुक्रबार नै छलफल गराउन माग गरेकाले समस्या भएको बताए ।

उनले ‘डा. केसीको स्वास्थ्य र संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव अलग–अलग विषय हो’–भने ।

डा. केसीको स्वास्थ्यसँग जोडेर सार्वजनिक महत्वको प्रस्ताव दर्ता हुँदा सभामुखले तत्काल छलफल गराउनुको साटो संसद नै तीन दिनका लागि स्थगित गरिदिएकोमा विपक्षी कांग्रेसले आपत्ति जनाएको छ ।

डा. केसीको स्वास्थ्य थप जटिल बन्दै गइरहेको अवस्थामा सोही विषयका कारण अवरुद्ध गरिएको संसद भने आगामी सोमबारमात्र बस्नेछ ।

सरकारले भने डा. केसीलाई काठमाडौं ल्याएर भएपनि जीवनरक्षा गर्ने बताइरहेको छ ।

भिडियो हेर्नुहोस्