इलाम, फागुन २९ । हिमालयन शेर्पा क्लब इलाममा जारी ‘पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–१ ले पराजित गर्दै हिमालयन शेर्पाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
थ्रीस्टारका कप्तान अनिल गुरुङले खेलको १४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, १९औं मिनेटमा हिमालयनका विजय श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए ।
खेलको ६८औं मिनेटमा हिमालयनका त्रिभुवन गुरुङले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । हिमालयनकै सुनील खड्काले ७५औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गराए ।
खेलको ‘म्यान अफ दी म्याच’ हिमालयन शेर्पाका विदेशी खेलाडी रामसेइ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
प्रतियोगिताअन्तर्गत् बिहीबार हुने तेस्रो क्वार्टरफाइनमा सशस्त्र प्रहरीको एपीएफ क्लब र क्यामरुनको दाउफिन्स फुटबल क्लब भिड्नेछन् ।








प्रतिक्रिया दिनुहोस्