
काठमाडौं, माघ ७ । चाबहिलको सुकेधाराबाट सवारीचालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ ।
यातायात व्यवस्था विभागले शुक्रबार (आज)देखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको हो ।
कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारओटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारीचालक अनुमतिपत्र लिन र नवीकरण गर्न रातिदेखि लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको बताए ।
‘एकान्तकुनामामात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सेवाग्राहीले सहजरुपमा सवारीचालक अनुमतिपत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हुँदैन, कार्यालय खुलेका स्थानमा परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोल्ने पनि मन्त्रालयको योजना छ’–उनले भने ।
हाल मोटरसाइकलको परीक्षण केन्द्र (ट्रायल सेन्टर) यातायात व्यवस्था विभाग मीनभवनमा र कारको परीक्षण केन्द्र (ट्रायल सेन्टर) नेसनल ट्रेडिङ, रामशाहपथमा हुँदै आएको छ ।
सीमित परीक्षण केन्द्र (ट्रायल सेन्टर) हुँदा अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा दिन समय कुर्नुपर्ने समस्या रहेको सेवाग्राहीको गुनासो छ ।
विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले सुकेधारामा कार्यालय खोल्न चौथोपटक विज्ञापन गरेर घरभाडा सम्झौता गरिएको जानकारी गराए ।
‘यहाँ कार्यालय खोलेपछि सवारी जाम भएर समस्या हुन्छ भन्ने स्थानीयवासीको गुनासो थियो, तर त्यस्तो हुन दिन्नौं’–उनले भने ।
कार्यालयमा आइतबारदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने र परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोलेपछि नयाँ अनुमतिपत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख सुन्दर भट्टराईले बताए ।
अनुमतिपत्र लिन सेवाग्राहीको भीड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न चार महिनाअघि निर्देशन दिएको थियो ।
निर्देशनअनुसार खुलेको सो कार्यालयको मासिक भाडा रु एक लाख तीन हजार पर्नेछ ।
नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमतिपत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत गर्न सकिने व्यवस्था छ ।
यसअघि विभागले काठमाडौंको स्वयम्भूस्थित ठूलोभर्याङ र भक्तपुरको जगातीमा पनि कार्यालय स्थापना गरेको थियो ।
विभागले एक महिनाअघिदेखि सवारीचालक अनुमतिपत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुआत गरेको छ ।
अनलाइनबाट भर्न सकिने भनी सुरु गरिएको सेवामा प्राविधिक समस्या देखिने गरेको सेवाग्राहीको गुनासो छ ।
विभागले एक वर्षअघिदेखि स्मार्ट सवारीचालक अनुमतिपत्र वितरण सुरु गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्