फाइल फोटो
नवजीवन सहकारी संस्था लिमिटेड, धनगढीको साधारणसभाको शनिबार धनगढीमा उद्घाटन गर्दै रक्षामन्त्री खाँणले ‘सबै नेपाली राष्ट्रवादी हुन्, कसैले–कसैलाई होच्याउने काम गर्नुहुँदैन’–भने ।
उनले भने–‘नेपालमा चीन र भारतविरोधी गतिविधि हुन दिनुहुँदैन, त्यसैमा नेपालको सुरक्षा र राष्ट्रहित छ ।’
राज्यशक्तिको स्रोत नेपाली जनता भएकाले कुनै निरंकुशता वा तानाशाही व्यवस्था फर्किएर आउन नसक्ने सुनिश्चितता नेपालको संविधानले गरेको उनले उल्लेख गरे ।
जनतामा निहीत सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भू–अखन्डता, राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय एकतालाई कसैले बदल्न नसक्ने संविधानको अपरिवर्तनीय व्यवस्था रहेको उल्लेख गर्दै उनले यीबाहेकका अरु धेरै कुरा बदल्न सकिने बताए ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष रतनबहादुर कठायतले संस्थाको आव २०७२/७३को वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
सीमित बैंकिङ कारोबार गर्दै आएको नवजीवन सहकारी संस्थाले आव २०७२/७३ को आर्थिक कारोबारबाट रु ६ करोड ८७ लाख २४ हजार सन्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाइएको छ ।
संस्थाले कृषि, व्यापार, उद्योग, सेवा, निर्माण, विपन्न वर्ग र उपभोक्ता कर्जालगायतका शीर्षकमा सेयरधनीलाई कर्जा प्रवाह गर्दै आएको छ ।
संस्थाको आव २०७१/७२ सम्म लगानीमा रहिरहेको कर्जा र सापटी रकम रु एक अर्ब ३७ करोड ६८ लाख ६० हजार रहेकामा आव २०७२/७३ मा ३४ दशमलव १७ प्रतिशतले वृद्धि भइ असार मसान्तसम्ममा लगानीमा रहिरहेको कर्जा रु एक अर्ब ८४ करोड ७३ लाख ८२ हजार पुगेको छ । रासस





प्रतिक्रिया दिनुहोस्