Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


साबुन उद्योगलाई मापदन्डभित्र ल्याउनुपर्नेमा जोड


0
Shares

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन ‘र्‍यापर र प्रपर लेबल’ नभएका यस्ता उत्पादनमाथि सरकारले तत्काल प्रतिबन्ध लगाउनुपर्ने बताउँछन् ।

उपभोक्ता संरक्षण ऐनअनुसार कुनैपनि उत्पादनबारे उपभोक्तालाई उत्पादनको विवरण, तौल, मूल्य, उत्पादन एवं म्याद समाप्त मिति, वस्तुमा मिसाइएका तत्वहरुबारे जानकारी गराउनुपर्दछ ।

बिनाप्याकेजिङका यी साबुनमा यी कुनैपनि कुरा उल्लेख हुने कुरै भएन । यस्ता उत्पादन र बिक्री–वितरण गरी उद्योगहरुले उपभोक्तालाई तौल, मूल्य, मिश्रणमा त ठगी नै रहेका छन्, सरकारलाईसमेत करछली गरेर नोक्सान पुर्‍याइरहेको अध्यक्ष महर्जनको भनाइ छ ।

कतिपय यी खुल्ला साबुनमा जनावरको बोसो र कारखानाबाट निस्केका हानिकारक तेलसमेत मिसाएको हुनसक्ने उनको दाबी छ ।

दुई वर्षअघि नै तौललाई लिएर यस्ता साबुनकाबारेमा मञ्चमा उजुरी आएसँगै सरकारलाई ध्यानाकर्षण गराउँदासमेत सरकारबाट नियन्त्रणका लागि कुनै पहल नभएको उनको गुनासो छ ।

चीन, भारत र नेपालमै यस्ता साबुन उत्पादन हुने गरेको छ । यस्ता साबुनको तौल कसैलाई थाहा हुँदैन भने मूल्य पनि मनपरी छ ।

यस्ता साबुनको तौल थाहा हुँदैन तर मूल्य भने गोटाको २५ देखि ४० रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

गुणस्तरसम्बन्धी कुनै जानकारी नै नदिइ खुलेआम यस्ता उत्पादन बिक्री–वितरण गरेर उपभोक्ता कानुनको ठाडो उल्लंघन भइरहँदा पनि सरकार मूकदर्शक बनेको उपभोक्ताकर्मी महर्जनको आरोप छ ।

बजारमा पाइने यस्ता साबुनमध्ये केहीमा क्वालिटी, पूजा गोल्ड, अमृत गोल्ड, प्रिन्स, फिज, त्रिशक्तिजस्ता उत्पादनको नाम देखिएपनि केहीमा कुनै विवरण लेखेको पाइँदैन ।

यस्ता वस्तुमा हानिकारक केमिकल रङहरुकोसमेत प्रयोग हुनसक्ने भन्दै यसतर्फ उपभोक्ता आफैं सचेत हुनपर्नेमा पनि जोड दिइएको छ ।

साबुन उद्योगलाई गुणस्तरको मापदन्डभित्र राख्न अब ढिला गर्न नहुनेमा जोड दिइएको छ ।