Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


सबै जनतालाई शुद्ध खानेपानी पुर्‍याउने योजना ४० जिल्लामा


0
Shares

सबै जनतालाई शुद्ध खानेपानी पुर्‍याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यअनुसार मन्त्रालयले विभिन्न चरणमा काम गरिरहेको बताए । उनले भने, ‘तराईमा आर्सनिकरहित पानी खुवाउनदेखि पहाडमा मोटरबाट पानी तानेर खुवाउन मन्त्रालय लागिपरेको छ ।’

राज्यमन्त्री खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीलाई पानी खुवाउने लक्ष्यअनुसार मन्त्रालय जुटिरहेको स्पष्ट पारे ।

विभागका उपसचिव अरुणकुमार सिम्खडाले मुख्य पानीको अभाव हुने क्षेत्रलाई लक्षित गरी मन्त्रालयको अग्रसरतामा विभागले ठूला खानेपानी आयोजना सञ्चालन गरेको जानकारी दिए । उनले भने, ‘४० जिल्लामा ११० खानेपानी आयोजना सञ्चालन गर्न लागेका छौँ ।’

विभागले ताप्लेजुङ, इलाम, झापा, उदयपुर, सुनसरी, मोरङ, रामेछाप, दोलखा, नुवाकोट, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, मकवानपुर, रौतहट, बारा, नवलपरासी, पाल्पा, गुल्मी, मुगु, जुम्ला, रुकुम, कैलाली, कञ्चनपुर, डोटीलगायत जिल्लामा ११० आयोजना सञ्चालन गर्न लागेको हो ।

विभागले गत आवमा ७४ आयोजना सञ्चालन गरेको थियो । प्रत्येक आयोजनामा रु ५० लाखभन्दा बढी बजेट खर्च हुने उपसचिव सिम्खडाले बताए ।

यो आयोजना सञ्चालनका लागि विभागले रु ८२ करोड ५० लाख विनियोजन गरेको छ । (रासस)