Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


भुष्मे गाउँमा ‘तामाङ होमस्टे’: लोकल परिकार र मनमोहक दृश्यको मजा (भिडियो)


0
Shares

-नविनराज कुईंकेल, ईमेज

होमस्टे मार्फत आफ्नो कला संस्कृति जोगाउने र आम्दानी समेत हुने भएपछि ५५ घरधुरीमा रहेका समुदाय सबै काम छाडेर अहिले होमस्टे निर्माणमा व्यस्त छन् ।

ढुङ्गाको गाह्रो र ढुङ्गाकै छानो रहेका चिटिक्कका घर । सबै घरमा एउटै रङ्गरोगन । आँखै अगाडी देखिने सेता हिमाल र आँगनमा फरफराएका तामाङ संस्कृतिका झण्डाले भुष्मे गाउँलाई निकै सुन्दर बनाएको छ ।

तामाङ पहिचान र संस्कृति बोकेको लमजुङको पुरानो भुष्मे गाउँका बासिन्दा आफ्नो संस्कृति र प्राकृतिक सौन्दर्य पस्कन होमस्टे सञ्चालनमा जुटेका हुन ।

भुलभुले गाउं विकास समिति वडा नं. ३ मा रहेको भुष्मे गाउँमा पहिलो पटक तामाङ होमस्टे सञ्चालनमा ल्याइएको हो ।

करिब ५५ घरधुरी रहेको भुष्मे गाउँमा पाँच घरबाट होमस्टेको सुरुवात गरिएको छ । अझै पांच घरमा होमस्टे निर्माण भईरहेको छ ।

एकै पटक ५० जना पाहुना यहां बास बस्न सक्ने मिलीजुली आमा समूहकी अध्यक्ष तारादेवी तामाङ बताइन् । घरमा चिटिक्क परेका बेडरुम, शौचालय, बाथरुम, पानीधारा लगायत आवश्यक सबै सामान राखिएको छ ।

करिब एक हजार पाँचसय मिटर उचाईमा रहेको भुष्मे गाउँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ, डा.हर्कपिक, हिमचुली लगायतका हिमश्रृङ्खलाहरु देख्न सकिन्छ ।

घलेगाउँ, घनपोखरा, ढँगैलगायतका पर्यटकीय गाउँहरुको साथै आँखै अगाडी देखिने बेसीशहर बजार, खुदी, सिम्पानी र घनपोखराका मनोरम गाउँहरु, नागबेली बगेको मस्र्याङ्दी र खुदीखोलाले पर्यटकको मन लोभ्याउँने होमस्टेका अध्यक्ष होमनाथ तामाङ बताउँछन् ।

माथिल्लो मस्र्याङ्दी–ए को बाँधस्थलदेखि पावरहाउसको दृश्य, गाउँमै रहेका मनोरम फाँट र देवीथान गुफा यहाँका अर्को आकर्षण हुन् ।

सदरमुकाम बेसीशहरबाट सिम्पानी, खुदी भुलभुलेहुँदै मोटरबाटोबाट दुई घण्टा र सिम्पानी गैरीको नयाँ पुलबाट हिँडेर तीन घण्टामा भुष्मे गाउँ पुग्न सकिन्छ । सोही गाउँ हुँदै बराहपोखरी पर्यटकीय स्थल पुग्न सकिन्छ ।

अन्नपूर्ण पदमार्गसँग जोडिएको यो गाउँबाट मनास्लु बेसक्याम्पसमेत पुग्न सकिन्छ । गाउँमा पुग्ने पाहुनाले आर्गानिक अन्नको साथमा कोदाको ढिँडो, लोकल कुखुरा, गुन्द्रुक भट्टको अचार, सिस्नुको खोले, आलु, च्याउ, टुसा, कुरिलो, बन तरुलका परिकारको साथमा दूधदही अनि लोकल रक्सी खान पाउँने होमस्टे संचालिका सुविता तामाङ बताउँछन् ।

यहां देखाइने तामाङ सेलो, मेन्दोमाया नाँच, मने नाँच, तम्वागम्बा नाँच पर्यटकको लागि अर्को आकर्षण रहेको छ ।

भुष्मेमा तामाङ होमस्टे सञ्चालन गरि गाउँलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न मिलीजुली आमा समूह र लोकप्रिय युवा क्लब लागि परेका छन ।