काठमाडौं, फागुन २८ । पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ ।
मंगलबारदेखि विराटनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको हो ।
सहिद रंगशालामा भएको खेलको १३औं मिनेटमा गोल गर्दै मञ्जलीकुमारी योञ्जनले नेपाललाई प्रारम्भिक अग्रता दिलाइन् ।
त्यसको तीन मिनेटमै गोल गर्दै साबित्रा भण्डारीले नेपालको अग्रतालाई दोब्बर पारिन् । साबित्राको यो २३औं अन्तर्राष्ट्रिय गोल हो ।
त्यस्तै, ५५औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै अग्रतालाई तेब्बर पारिन् ।
नेपालले निरन्तर पोस्टमा आक्रमण गरेपनि थप गोल भने गर्न सकेन ।
मनोबल उच्च
साफमा यसअघि भुटानसित भएका दुई भेटमा नेपाल समान ८–० ले विजयी भएको थियो ।
पाँचौं संस्करणसम्म आइपुग्दा नेपालले तीनपटक फाइनल खेलेको छ भने एकपटक सेमिफाइनलबाटै बाहिरिएको छ ।
सबै संस्करणमा नेपालको तगारो भारत बन्दै आएको छ । तर, हालै भारतमा भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई हराएकाले यसपटक नेपालको मनोबल उच्च छ ।
नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा चैत २ गते बंगलादेशसित खेल्नेछ ।
६ टोली सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, श्रीलंका र माल्दिभ्स छन् । बुधबार भारत र माल्दिभ्स खेल्नेछन् ।
यसअघि, मंगलबारै प्रतियोगिताको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।
उद्घाटनक्रममा विभिन्न सांस्कृतिक प्रदर्शन भएको थियो ।








प्रतिक्रिया दिनुहोस्