
प्रतीकात्मक तस्वीर
चार महिनासम्म राजधानीमा उपचार गराएर घर फर्किएका राईको भनाइ थियो– ‘मलाई लैजान सक्दो प्रयास गरेको काल रित्तै फर्कियो ।’
गत असोज ७ गते शनिबार साँझ घाँस काट्न रूख चढेका राई रूखको निकै माथिबाट लडे, करिब चार घन्टा बेहोस भएका राईका दुवै हात र एउटा खुट्टा भाँचियो भने कम्मरको हड्डी खुस्कियो । भाग्यले बाँचेका राईलाई उपचारका लागि राजधानी लैजान असोज ८ गते हेलिकप्टर चार्टर गरियो, उनलाई लिएर बिहान करिब ७ः३० बजे राजधानी फर्कन थालेको हेलिकप्टर उडेको केही सेकेन्डमै दुर्घटनामा पर्यो, तैपनि उनी बाँचे ।
माउन्टेन एअरको नाइनएन अल्फा लीमा क्युबिक कलसाइन भएको हेलिकप्टर लुक्ला विमानस्थलबाट जुभिङ स्वास्थ्य चौकी आएको थियो । हेलिकप्टर उडेपछि धुवाँ निस्कियो र पाइलटले हेलिकप्टर कोदोबारीमा लगेर आकस्मिक अवतरण गराए । क्याप्टेन सुरज थापाले हेलिकप्टरमै रहेको ग्यासको सहायताले हेलिकप्टरलार्इ विस्फोट हुनबाट जोगाए । त्यसमा सवार ६ जना नै बाँच्न सफल भए । उनी त्यो घटना सम्झँदा पनि बर्बराउन थाल्छन् । पन्ध्र घण्टामा दुईपटक कालको मुखमा पुगेर बाँचेका उनी घटना सम्झँदै भन्छन्, ‘सायद काल पनि मसँग हारेर रित्तै फर्कियो ।’
‘टेक अफ’ गर्नेबित्तिकै हेलिकप्टरको ड्यासबोर्डमा इन्जिनमा खराबी देखिएको नोटिफिकेसनको सङ्केत आएपछि क्याप्टेन थापाले फोर्स ल्यान्डिङ गर्न लाग्दा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
‘अगाडिको भाग क्षतिग्रस्त भएको हेलिकप्टरबाट चालकसहित अरू त तत्कालै भागे तर लडेर घाइते देवान भाग्न सकेनन्,’ राई भन्छन्,‘सबै भागेपछि मैले जोडसँग कराउँदै आफूलाई पनि बाँच्न मन भएकाले निकाल्न आग्रह गरेँ, केही बेरपछि पाइलट आएर रुँदै केही हुँदैन, अब बाँचियो भने, त्यसपछि बाँच्ने आशा पलायो, एक घन्टामा अर्को हेलिकप्टर आएर हामीलाई काठमाडौँ पुर्यायो, अनि उपचार गरेर आज फर्कंदैछु ।’
नेपाली आकासमा विमान दुर्घटनामा परिसकेपछि बाँचेकाको रेकर्ड नगण्य छ । सामान्यतया विमान दुर्घटना भएपछि बाँच्नु त के कुरा, सग्लो शव भेट्नसमेत गाह्रो पर्छ । त्यसैले दुर्घटनापछि नयाँ जीवन पाउँदा आफ्नो शरीर र जीवनको धेरै माया लागेको उनी बताउँछन् । दुर्घटनाअघि रोजगारीका लागि विदेश जाने तयारी गरेका देवान अब भने जस्तो दुःख परेपनि आफ्नै गाउँमा मिहेनत गरेर बस्ने अठोटमा छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्