फाइल फोटो
कुल ३७ मेगावाट क्षमताको सो आयोजना ‘क्यासकेड’ परियोजनाकारुपमा लिइएको छ ।
आयोजनाको निर्माण अघि बढाउन कम्पनीले सूचनामार्फत् सीमितरुपमा विश्वव्यापी बोलपत्र आह्वान गरेको आयोजना प्रमुख मोहन गौतमले राससलाई जानकारी दिए ।
आयोजनाले बोलपत्र पेस गर्ने अन्तिम मिति आगामी वैशाख १९ गते मंगलबारसम्मका लागि तोकिएको छ । प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो ।
आयोजना इन्जिनियरिङ प्रोक्युमेन्ट कन्स्ट्रक्सन (इपीसी) ढाँचामा अगाडि बढाउन लागिएको परियोजना हो ।
बोलपत्रमा भाग लिन आयोजनाले विभिन्न सात अन्तर्राष्ट्रिय कम्पनीलाई छनोट गरेको छ । छनोट भएका कम्पनीलेमात्रै बोलपत्रमा भाग लिन पाउनेछन् ।
पूर्वयोग्यता परीक्षणमा छनोट भएका सात कम्पनीमध्ये ६ ओटा चिनियाँ र एक भारतीय कम्पनी रहेका छन् ।
बोलपत्रको आवश्यक प्रक्रिया सम्पन्न गरेर आगामी मंसिरबाट निर्माण सुरु गर्ने सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनामा विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०/३०, आयोजना प्रभावित रसुवा, नुवाकोट जिविस, गाविस तथा रसुवा र नुवाकोटका सामुदायिक संस्थाले पाँच/पाँच, आयोजना प्रभावित १०, सर्वसाधारणलाई १५ र प्राधिकरण र टेलिकमका कर्मचारीलाई पाँच प्रतिशत सेयर दिने गरी लगानी संरचना तय गरिएको छ ।
नबिल बैंकको नेतृत्वमा, नेपाल बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, नागरिक लगानी कोषले लगानी गर्ने विषयमा छलफल अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
आयोजना आर्थिकरुपमा आकर्षक भएको गौतमले बताए । उनकाअनुसार आयोजनाको प्रतिफल २२ प्रतिशत हुनेछ ।
आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ ।
प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाबाट निस्कने पानी ३.७ किलोमिटर लामो सुरुङबाट नुवाकोटको बेत्रावतीनजिक सिरुवापानीस्थित विद्युत्गृहमा खसालिने छ ।
आयोजनाको सामान्य बाँधमात्रै निर्माण गरे हुने भएकाले लागत अन्य आयोजनाकोभन्दा कमपर्ने बताइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्