Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आयोजकलाई हराउँदै आर्मी झापा गोल्डकप च्याम्पियन


0
Shares

झापा, फागुन २७ । चौथो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा आयोजक झापा–११ लाई ५–३ ले पराजित गर्दै विभागीय टोली आर्मीले उपाधि जितेको हो ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा आर्मीलाई जिताउनेक्रममा सन्तोष तामाङले दुई तथा भरत खवास, नवयुग श्रेष्ठ र टेकबहादुर बुढाथोकीले एक/एक गोल गरे ।

झापाका लागि फ्रान्सस, योगेश गुरुङ र भिक्टरले एक/एक गोल फर्काए ।

आर्मीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरको थियो । झापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो ।

उपाधिसँगै आर्मीले १२ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेतामा सीमित बनेको झापाले ६ लाख ५ हजारमा चित्त बुझायो ।

फाइनल खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका सन्तोष तामाङ घोषित भए । उनले १५ हजार रुपैयाँ पाए ।

झापा गोल्डकपको फाइनलमा आर्मी र झापाको यो तेस्रो भेट हो । यसअघि, आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो संस्करणको उपाधि जितेको थियो ।

झापा–११ भने चौथोपटक फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन भएको छ ।

प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।