काठमाडौं, फागुन २७ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले नेपाल साफ च्याम्पियनसिप जित्न आतुर रहेको बताएका छन् ।
मंगलबारदेखि विराटनगरमा सुरु हुने पाँचौं महिला साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक खड्काले युवा खेलाडीहरु प्रतिस्पर्धाका लागि उत्साही रहेको बताए ।
साफका लागि घोषित २० सदस्यीय टोलीमा ६ खेलाडी १९ वर्षमुनिको उमेर समूहका छन् ।
खेलाडीहरु अहिलेका उत्कृष्टमध्येका भएकाले प्रदर्शनपनि उत्कृष्ट नै हुने खड्काको दाबी छ ।
उनले समूहमा सबै टोली उस्तै रहेको र हरेक खेललाई उत्तिकै महत्वका साथ हेरेको बताएका छन् ।
पाँचौं संस्करणसम्म आइपुग्दा नेपालले तीनपटक फाइनल खेल्दा एकपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । सबै संस्करणमा नेपालको तगारो भारत बन्दै आएको छ ।
तर, हालै भारतमा भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई हराएकाले पनि नेपालको मनोबल उच्च छ ।
निरु थापाको कप्तानीमा मैदानमा उत्रने नेपालले मंगलबार उद्घाटन खेलमा भुटानसित खेल्दैछ । नेपालको समूहमा बंगलादेश पनि रहेको छ ।
नेपालले सहजै अन्तिम चारको यात्रा तय गर्ने अपेक्षा गरिएको छ ।
नेपालले समूहको अन्तिम खेलमा चैत २ गते बंगलादेशसित खेल्नेछ ।
घरेलु मैदानमा खेल्दा नेपाललाई उपाधि जित्ने राम्रो अवसर रहेको छ । अर्को समूहमा भारत, श्रीलंका र माल्दिभ्स छन् ।
पाकिस्तानले टिम दर्ता नै गरेन भने अफगानिस्तानले साफ खेल्न छाडेको छ ।

“








प्रतिक्रिया दिनुहोस्