
फाइल फोटो
शनिबार सहिद गंगालाल राष्ट्रिय हृृदय केन्द्रको २१औं वार्षिकोत्सवको अवसर पारेर सरकारले मुटुरोगको उपचार सहज बनाउन यही फागुन १ गतेबाट सो उपचार निःशुल्क गर्ने घोषणा गरेको हो ।
नेपालमा युवामा मुटुरोगको समस्या बढ्दै गएको भन्दै सरकारले बाथ, मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायत सम्पूर्ण सेवा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जबाट निःशुल्क प्रदान गर्ने भएको छ ।
मुटुरोगीका लागि रु एक लाख, १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको मुटुको सम्पूर्ण उपचार पनि यसअघि निःशुल्करुपमा गर्दै आएको छ ।
खानपान र फेरिएको जीवनशैलीसँगै मुटुका रोगीको संख्या नेपालमा बढ्दै गएकाले उपचारलाई सहज तथा उपचार सबै नागरिकको पहुँचमा पुर्याउन सो सुविधा थप गरेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताए ।
नेपालमा काम गरी आम्दानी गर्ने उमेर समूहका युवा तथा विदेशमा रोजगारीका लागि गएका युवामा मुटुरोगको समस्या बढ्दै गएको पाइएको चिकित्सक बताउँछन् ।
मुटुरोगको उपचार केन्द्रमामात्र नभइ राजधानीबाहिर पनि विस्तार गर्ने योजनाअनुसार यसैवर्ष नेपालगन्ज र पोखराबाट उपचार सुरु गर्ने मन्त्री थापाले जानकारी दिए ।
सहिद गंगालाल श्रेष्ठको सम्मानमा उनको नाममा वि.सं. २०५२ मा सुरु गरेको गंगालाल राष्ट्रिय हृृदय केन्द पूर्णरुपमा सरकारको आर्थिक सहयोगमा सन्चालनमा छ ।
सुरुआतमा ९ शैय्याबाट सन्चालन गरिएको अस्पताल अहिले २०० शैय्या पुर्याइ बिरामीलाई उपचार गरिरहेको छ ।
चालु आर्थिक वर्षमा केन्द्रलाई १५ वर्षमुनिका बालबालिकार र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि रु ११ करोड, बिनाअप्रेशन मुटुको साँघुरिएको भल्व खोल्ने प्रविधि (पीटीएमसी)का लागि रु एक करोड ५० लाख, गरिब तथा असहाय बिरामीका लागि २०० ओटा भल्व निःशुल्क गर्न रु एक करोड २० लाख सरकारले उपलब्ध गराएको केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले जानकारी दिए ।
गत आर्थिक वर्षमा केन्द्रले विपन्न कार्यक्रमअन्तर्गत् एक हजार ८४९ बिरामीको उपचार गरेको थियो सोवापत् सरकारले रु १७ करोड ९४ लाख ४९ हजार उपलब्ध गराएको थियो ।
स्थापनाकालदेखि हालसम्म केन्द्रले १२ लाख ९० हजार बिरामीको बहिरङ सेवामार्फत् स्वास्थ्य परीक्षण गरेको छ । यसैगरी, १८ हजार बिरामीको मुटुको शल्यक्रिया गरेको पनि केन्द्रले जनाएको छ ।
बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएकोले केन्द्रले बहिरङ र आकस्मिक सेवा प्रवाहका लागि ठाउँको अभाव भएपछि रु ४८ करोडको लागतमा बहिरङ र आकस्मिक सेवा प्रवाहका लागि सुविधासम्पन्न तीनतले भवन निमार्ण गर्दैछ ।
सो भवनको स्वास्थ्यमन्त्री थापाले शनिबारै शिलान्यास गरे ।
उक्त नयाँ बन्ने भवनमा पेइङ क्लिनिकको लागिसमेत छुट्टै ठाउँको व्यवस्था गरिएको कार्यकारी निर्देशक शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्