Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


माथिल्लो खोरुंगाखोला जलविद्युत् आयोजनाको निर्माण सुरु


0
Shares

मोराहाङ–४ मा निर्माण हुने उक्त आयोजनाको बुधबार सांसद भवानीप्रसाद खापुङले शिलान्यास गरे ।

आयोजनाको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले आगामी २०७६ मंसिरभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको कुल लागत रु एक अर्ब ३७ करोड छ ।

कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीकाअनुसार आयोजनामा माच्छापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बंगलादेश बैंक र जनता बैंकले रु एक अर्ब लगानी गरेका छन् भने रु ३७ करोड प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय र प्रवद्र्धक कम्पनीले लगानी गर्नेछन् ।

आयोजना निर्माणपछि जिल्लाका सबै गाविसमा बिजुली पुग्ने कम्पनी अध्यक्ष भूपतिलाल श्रेष्ठले बताए ।

नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच गत मंसिर १ गते विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ ।

उक्त आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा किन्ने सम्झौता भएकोे छ ।

आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनको तेह्रथुम वितरण केन्द्रस्थित ट्रान्समिटरमा जडान गरिनेछ ।

जिल्लाका सम्दु, खाम्लालुङ, संक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, इवा र ह्वाकु गाविसमा अझैपनि केन्द्रीय प्रसारणको विद्युत् सुविधा पुगेको छैन ।

सो अवसरमा सांसद खापुङले आयोजना निर्माणले जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउनाका साथै आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस