Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


पोखरामा फुटबल मैदानसहित स्टेडियम निर्माण शुरु


0
Shares

प्रदिप पौडेल

पोखरा, फागुन २६ । पोखरामा फुटबल मैदानसहित स्टेडियम निर्माणको काम शुरु गरिएको छ ।

ठेक्का सम्झौताको दुई महिनापछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आईतबार शिलान्यास गर्दै तोकिएकै मितिमा स्टेडियम निर्माण कार्य पुरा गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिए ।

‘हामीलाई साग गेम गर्नुपर्ने जिम्मेवारी छ । प्रतिष्ठाको विषय पनि हो । भौतिक पुर्वाधार तोकिएकै मितिमा पुरा गर्नुपर्ने जिम्मेवारी र दायित्व छ,’ मन्त्री बिकले भने, ‘तोकिएकै मितिभित्र निर्माण गरेर हस्तान्तरण गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं ।’

उनले तोकिएकै मितिमा निर्माण पुरा गर्दै कुशल निर्माणको परिचयलाई अझ उजिल्याउनुे काम गर्नुपर्ने भन्दै कम्पनी नै अनुहार रातो बनाएर जाने वातावरण कतैबाट सिर्जना नहुने विश्वास व्यक्त गरे । ‘वातावरणीय प्रतिकुलताको उल्झन आउने छैन । सहज वातावरण निर्माण गरिदिनुपर्छ,’ उनले भने,‘त्यस्तो उल्झनको वातावरण कर्हीँ कतैबाट नहोस् । त्यसप्रति सरकार गम्भीर छ ।’

शिलान्यास समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले पोखरा रंगशालालाई अब नयाँ माष्टर प्लान बनाई कार्ययोजना बनाउनु पर्ने बताए । ‘पुरानो माष्टर प्लान परिवर्तन गर्नुपर्छ । हिजोको आवश्यकता अनुसार बनाईएको थियो । अब अहिलेलाई हरेर भविष्यको लागि बनाउन जरुरी छ,’ उनले भने, ‘त्यो गुरुयोजना बरु पुरा हुन १०/१५ वर्ष नै लागोस् ।’

उनले पोखरा रंगशालाको फुटबल स्टेडियम आगामी असार मसान्तभित्रमा पुरा गर्नुपर्ने जिम्मेवारी कम्पनीको रहेको बताए । ‘१८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको स्टेडियम बनाउने छौं,’ उनले भने, ‘जुन नेपालकै ठूलो र आधुनिक रंगशाला बन्ने छ ।’

राष्ट्रिय खेलकुद परिषदले पोखरा फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एमए कन्स्ट्रक्सन जवलाखेल ललितपुर (जेभी)सँग सम्झौता गरी जिम्मेवारी सुम्पिईसकेको छ । सम्झौता भएको दुई महिनापछि शिलान्यास गर्दै एमए कन्ट्रक्सन कम्पनीका अनुप आचार्यले प्राकृतिक र प्राविधिक समस्या नभए तोकिएकै मितिमा स्टेडियम निर्माण पुरा गर्ने प्रतिबद्धता जनाए । ‘हामी निश्चित समयभित्रै प्राकृतिक र प्राविधिक समस्या नआए स्टेडियम हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउँछौं,’ उनले भने ।

फुटबल मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाइ हुनुपर्ने छ ।

मैदान टर्फ अथवा प्राकृतिक राख्ने तय गरिएको छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने छ । ठेक्का सम्झौता भएपछि पोखरा रंगशालामा दुई ठुला फुटबल प्रतियोगिताले झण्डै डेढ महिनाको समय लम्ब्याईदिएको थियो ।

टेण्डर सम्झौता भएपछि माघ १५ गतेदेखि मनकामना केवलकार फुटबल प्रतियोगिता र फागुन ९ गतेदेखि सञ्चालन हुने आहा रारा गोल्डकप प्रतियोगिताले केही ढिलाइ हुन पुग्यो ।

स्टिल मोडुलर सिष्टमको स्टेडियम नेपालमै पहिलो भएको दावी कम्पनीले गरेको छ । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ ।

प्रदेश सदस्य राजीव पहारीले पोखरालाई स्पोर्टस टुरिज्म सिटी बनाउनुपर्ने बताउँदै त्यसको लागि प्रदेश सरकारले पनि सहयोग गर्ने उल्लेख गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले निर्माणाधिन प्रोजेक्टलाई असर पर्ने गरी कुनै पनि गतिविधि सञ्चालन गर्न नहुने भन्दै सबै संघ संस्थाले स्टेडियम निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

पोखरा रगंशालाको क्षेत्रफल ४१७ रोपनी छ । क्रिकेट, स्वीमिङपुल, सडक, मार्शल आर्ट कभर्ड हल बनाउन बाँकी छ । आर्चरी, लनटेनिस, बहुउद्देश्यीय कभर्ड हल, व्याडमिन्टन कभर्ड हल निमार्णाधीन छन् । साग गेमलाई लक्षित गरी आर्चरी, कभर्ड हल र टेनिस कोर्टको काम भईरहेको छ । स्क्वासको लागि आवश्यक पुर्वाधार समेत बनाईएको छ ।

पोखरा रंगशाला भित्र अहिले साढे १५ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल, दुई करोडको लागतमा आर्चरी मैदान, साढे दुई करोडमा टेनिसको हार्ड कोर्ट, क्ले कोर्ट र चेन्जिङ रुमसहित प्यारापिट निर्माणाधिन, साढे तीन करोडको लागतमा निर्माणाधिन चारकोर्ट युक्त व्याडमिन्टन कभर्ड हल, सवा करोडको लागतमा भलिबल प्रशिक्षण केन्द्र र ९० लाखको लागतमा ह्याण्डबल खेल मैदान निर्माण गरिएको छ ।