Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


३३५ मेगावाटको माथिल्लो अरुणलाई कम्पनी ढाँचामा अगाडि बढाउने


0
Shares

सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने लक्ष्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरिएको हो ।

यसकालागि नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी केही दिनपहिले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएको हो ।

कम्पनी दर्ता भएपछि थप आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ । यसअघि नै मन्त्रिपरिषदले सो आयोजना प्राधिकरणले नै बनाउने गरी सैद्धान्तिक सहमति दिइसकेको थियो ।

प्राधिकरणले नै निर्माण गर्ने गरी अगाडि बढाइएको प्रस्तावलाई संशोधन गरी प्राधिकरणको सहायक कम्पनीमार्फत् अगाडि बढाउन पनि मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

लामो समयदेखि प्राधिकरणको स्वामित्वमा रहेको सो आयोजना विदेशी प्रवद्र्धकलाई दिन लागिएको भन्दै विरोधसमेत भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सस्तो आयोजनाकोरुपमा रहेको सो आयोजना कम्पनी ढाँचामा अगाडि बढाउने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

कुल ३३५ मेगावाट क्षमताको सो आयोजना हालसम्मकै सबैभन्दा सस्तो आयोजनाकोरुपमा मानिन्छ ।

प्राधिकरणका सहायक कम्पनीमार्फत् अगाडि बढाएका आयोजनाको प्रतिफल राम्रो देखिएको र व्यवस्थापनसमेत चुस्त देखिएको सन्दर्भमा कम्पनी ढाँचामा आयोजना अगाडि बढाउन लागिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

आयोजनामा प्राधिकरणको शतप्रतिशत लगानी रहनेछ । लगानी जुटाउने विषयमा विभिन्न सरोकारवाला निकायसँग पनि छलफल सुरु भइसकेको छ ।

भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलभन्दा आठ किलोमिटरमाथि यसको आयोजनास्थल रहेको छ ।

आयोजनालाई गति दिन परामर्शदाता, प्राविधिक मूल्यांकन तथा लगानीको जोहोलगायतका विषयमासमेत प्रक्रिया अगाडि बढाइएको छ ।

प्राधिकरणको हातमा कुनैपनि आयोजना नरहेको अवस्थामा माथिल्लो अरुण जलविद्युत् आयोजना अगाडि बढाउन लागिएको हो ।

प्राधिकरणका तत्कालीन सन्चालक समिति अध्यक्ष लीलामणि पौड्यालले आयोजना स्वदेशी लगानीमा नै अगाडि बढाउने निर्णय गरेका थिए । निर्णय भएपनि प्रक्रिया अगाडि बढ्न नसक्दा अन्यौल बढेको थियो ।

केपी ओली नेतृत्वको सरकारले सो आयोजना चिनियाँ लगानीमा अगाडि बढाउने विषयमा चीन सरकारसँग सामान्य कुराकानी भएपनि ठोस प्रस्ताव भने अगाडि बढ्न सकेको थिएन ।

प्राधिकरणले नै सन् १९९१ मा सम्भाव्यता अध्ययन गरिसकेको माथिल्लो अरुण आयोजना निर्माण गर्दा कम डुबान क्षेत्र पर्छ भने अध्ययनको आधारमा हालसम्मकै सबैभन्दा सस्तो आयोजनामध्ये एक हो ।

३३५ मेगावाटको उक्त आयोजनाको लागत रु ५३ अर्ब ४० करोड रहनेछ । प्राधिकरणकाअनुसार सो आयोजनाबाट उत्पादन हुने विद्युत्को लागत प्रतियुनिट दुई रुपैयाँ ७४ पैसामात्रै पर्नेछ ।

आयोजनाको क्षमतालाई बढाएर ७ सय मेगावाटसम्म बनाउन सकिने प्राधिकरणको प्रारम्भिक अध्ययनले देखाएको छ ।

सन् १९९१ मा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गरेको अध्ययनमा सो आयोजना सहज र सस्तो आयोजनाकोरुपमा रहेको देखाएको थियो । रासस