Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


स्वदेशी वस्तुको उपयोग गर्न मातहतका निकायलाई उद्योगमन्त्रीको निर्देशन


0
Shares

उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशी वस्तुको उपयोग गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका पालना नगरेकोमा आपत्ति पनि जनाए ।

निजी क्षेत्रका व्यवसायीहरुले उद्योग मन्त्रालयले आफैंले बनाएको निर्देशिकासमेत पालना नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

यसै सम्बन्धमा छलफल गर्न सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री जोशीले सार्वजनिक निकायमामात्रै स्वदेशी वस्तुको उत्पादन प्रयोग भए मुलुकको साना र मझौला उद्यमीहरुले ठूलो राहत पाउने विश्वास व्यक्त गरे ।

मन्त्री जोशीले सरकारले विश्वका विभिन्न ठूला सहरमा नेपाली उत्पादनको बजारीकरण गर्नका लागि प्रदर्शनीकक्ष स्थापना गर्ने तयारी गरिरहेको पनि बताए ।

नेपालका निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई समृद्ध बनाउन सरकारले अनेक पहल गरिरहेको दाबी पनि मन्त्री जोशीले गरे ।

सार्वजनिक निकायमा ५० प्रतिशत सामग्री स्वदेशी उत्पादनकै उपयोग गर्नुपर्ने सरकारले जारी गरेको निर्देशिकामै उल्लेख छ ।