काठमाडौं । अस्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेटमा भारत पराजित भएको छ ।
राँचीमा भएको खेलमा घरेलु टोली भारत भ्रमण टोली अस्ट्रेलियासँग ३२ रनले पराजित भएको हो ।
कप्तान विराट कोहलीको शतकीय पारीका बाबजुद पनि भारत पराजित भएको हो । ३१४ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर दुई बलमा सबै विकेट गुमाएर २८१ रन मात्रै बनायो ।
भारतका लागि विराट कोहलीले ९५ बलमा १६ चौका र एक छक्काको सहयोगमा १२३ रन बनाए । कोहलीले एक दिवसीय क्रिकेटमा ४१ औँ शतक बनाएका हुन् ।
यस्तै विजय शंकरले ३२, महेन्द्र सिंह धोनी र केदार जाधवले समान २६ तथा रवीन्द्र जडेजाले २४ रनको योगदान दिए पनि हार टार्न सकेनन् ।
अस्ट्रेलियाका प्याट कमिन्स, जायी रिचर्डसन र एडम जाम्पाले तीन/तीन विकेट लिए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा ३१३ रन बनायो ।
उसका लागि उसमान खावजाले ११३ बलमा ११ चौका र एक छक्काको सहयोगमा १०४ रनको योगदान दिए ।
यस्तै एरोन फिन्चले ९९ बलमा १० चौका र तीन छक्काको सहयोगमा ९३ तथा ग्लेन म्याक्सवेलले ३१ बलमा ४७ रन बनाए ।
भारतका कुलदीप यादवले तीन विकेट लिए । लगातार दुई खेलमा जित निकालेको भारतले तेस्रो खेलमा हार बेहोरे पनि पाँच एक दिवसीय शृङ्खलामा २–१ को अग्रता भने कायमै राखेको छ ।








प्रतिक्रिया दिनुहोस्