
प्रतीक्षा खनाल (इमेज)
काठमाडौं, फागुन २४ । महिला अधिकारको मुख्य बाधक विभेद नै हो ।
हाम्रो समाजमा महिलाले जन्म लिनुपूर्वदेखि नै विभेद भोग्नुपर्ने बाध्यता छ ।
नारीलाई देवी अथवा शक्तिकारुपमा पुज्ने समाजमा महिलाले आफ्नो जीवनकालमा विभिन्नखालका विभेदसँग जुध्दै अघि बढ्नुको विकल्प छैन ।
शारीरिक, मानसिक, यौनिक, आर्थिकलगायतका विभेदकाबीच एक नारीले आफ्नो जीवन बिताउने गर्छिन् ।
विगत र अहिलेको अवस्थालाई तुलना गर्ने हो भने महिला अधिकारका सवालमा धेरै परिवर्तनहरु आएका छन् ।
तर, महिलाप्रतिको सोच र मानसिकतामा परिवर्तन नआउँदा एक महिलाको संघर्ष जन्मपूर्व नै सुरु हुने गरेको छ ।
छोरीको तुलनामा छोराको चाहना राख्ने हाम्रो समाजमा भ्रूण हत्या महिला जन्मनुअगाडिको विभेदको एक ज्वलन्त उदाहरण हो ।
भ्रूण हत्याबाट जोगिएकी बालिकाले संसारमा पाइला टेकेदेखि नै सामाजिक र धार्मिक विभेदको सामना गर्नुपर्छ ।
समाजले तोकेको आचरण र दायराबाट मुक्त भएर जीउन चाहने महिलाले अनेकौं प्रश्नहरुको सामना गर्नुपर्ने समय बदलिएको छैन ।
अहिलेपनि बहुसंख्यक महिलालाई कलिलो उमेरदेखि नै महिला हुनुको जिम्मेवारी बोध गराइन्छ । जसले उसको आत्मबलमा ह्रास ल्याउँछ । किनकि, महिला भएर जन्मनु नै उसका रहरहरुमा बाधा ल्याउन पर्याप्त छन् ।
समाज एक पुरुषका लागि जति सहज र खुला हुन्छ, एक महिलाका लागि त्यति नै असहज र संकुचित हुने गर्छ ।
महिलाले विवाहका लागि उपयुक्त उमेर र साथीको चयन, कार्यक्षेत्र चयनजस्ता महत्वपूर्ण निर्णयदेखि पहिरनको चयनसम्ममा स्वतन्त्र निर्णय गर्दा अपमानित हुनुपर्ने अवस्था छ ।
अर्कोतर्फ महिलाको जीवनको हरेक पाइलामा पुरुषको संरक्षण अपरिहार्यजस्तो बनाइएको छ । जसले गर्दा बाबुबिनाकी छोरी, एकल महिला तथा सन्तान नभएका महिलाको जीवनयापन सहज हुँदैन ।
महिला घरेलु हिंसा, यौनहिंसा, बेचविखन, बालविवाह, जबर्जस्ती गर्भपतन, बोक्सीप्रथा, छाउपडी, दाइजोजस्ता अनेकौं कुसंस्कारका शिकार भएका उदाहरण प्रशस्त छन् ।
यस्तो अवस्थालाई चिर्दै हरेक क्षेत्रमा महिला सहभागिता दिनानुदिन बढ्दो छ । घरबाहिर निस्कन थालेपछि भने महिलाहरुले कार्यस्थलमा हुने यौनदुर्व्यवहारजस्ता नयाँ–नयाँ समस्या भोग्नुपरिरहेको छ ।
तर, राजनीतिक, सामाजिक, आर्थिक, यौनिकलगायत जुनसुकै विभेदकाबीच पनि आफूलाई अब्बल सावित गर्न महिला प्रयासरत् छन् ।
यसैको परिणाम हो, पछिल्लो समयमा ‘मेरो शरीर मेरो निर्णय’ भन्ने आन्दोलन सफलतातर्फ उन्मुख छ भने विभेद र हिंसाविरुद्ध खुलेर बोल्ने ‘मी टू’जस्ता अभियान सफल हुँदै गएका छन् । मात्र आवश्यकता छ त, प्राप्त उपलब्धिको रक्षा तथा पितृसत्तात्मक सोच र पुरुषवादी मानसिकतामा परिवर्तन अभियानको निरन्तरताको ।
प्रतिक्रिया दिनुहोस्