Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


नारायणकाजीको निवासमा ओली र दाहाल आमने–सामने, के निस्कियो निचोड ?


0
Shares

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा एमालेसहितका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री दाहालले सकेसम्म सबै पक्षलाई मिलाएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको र आवश्यक प्रक्रियासमेत अगाडि बढिरहेको बताए ।

संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकायको निर्वाचन गराउने पक्षमा सरकार रहेकाले कुनैपनि आशंका नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे ।

दुई पार्टीका शीर्ष नेताबीच भएको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

निर्वाचन हुन नसके मुलुक विषम राजनीतिक संकटमा फस्ने भएकाले त्यसतर्फ ध्यान दिनसमेत प्रधानमन्त्रीलाई सचेत गराइएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

छलफलपछि रासससँग कुरा गर्दै उपाध्यक्ष रावलले भने–‘हामीले तत्काल निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं, उहाँले पनि सरकारले केही दिनभित्रै मिति घोषणा गर्ने वचन दिनुभएको छ ।’

प्रधानमन्त्रीलेसमेत निर्वाचन नहुँदाको अप्ठ्यारो र त्यसले पार्ने प्रभावकाबारेमा आफू सचेत रहेको बताएको उपाध्यक्ष रावलले जानकारी दिए ।

पछिल्ला दिनमा प्रमुख राजनीतिक दलबीच संवाद हुन छाडेको सन्दर्भमा शुक्रबार प्रमुख दुई दलबीच संवाद भएको हो । संवादको संयोजन माओवादी केन्द्रका नेता श्रेष्ठले गरेका थिए ।

छलफलमा प्रमुख तीन दलबीच निर्वाचनको विषयमा सहमति जुटाउने, मधेसकेन्द्रित दललाईसमेत सहमतिमा ल्याएर शीघ्र निर्वाचनको मिति घोषणा गर्ने विषयमा सहमति भएको छ । रासस