
सोमबार त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले कीर्तिपुरमा गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको भन्दै कुनैपनि हालतमा निर्वाचन हुने दाबी गरे ।
सरकारले चाँडै निर्वाचनको मिति घोषणा गर्ने भन्दै देउवाले निर्वाचनबाटै मुलुकले निकास पाउने बताए ।
केही शक्तिले अहिले पनि निर्वाचन हुँदैन भनेर मुलुकमा अस्थिरता निम्त्याउन चाहेको भन्दै उनले सरकारले कुनै हालतमा निर्वाचन गराउने बताए ।
कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले अहिलेकै संरचनामा भएपनि कांग्रेसले निर्वाचन गर्ने दाबी गरे ।
मधेसी दलका उचित मागलाई सम्बोधन गरेर निर्वाचनमा जानुको विकल्प नभएको भन्दै उनले निर्वाचनको वातावरण बनाउन आग्रह गरे ।
कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन कांग्रेसकै नेतृत्वमा हुने उनको भनाइ थियो ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले जित्ने दाबी गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले प्रकाशन गरेको प्रज्ञा दर्शन जर्नलको विमोचन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्