१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दुईवटा गाउँ जहाँ महिलाको नागरिकता नै छैन


0
Shares

-अञ्जली थापा

विसं २०६०/६१ मा जम्मा ६० जना महिलाले नागरिकता बनाएका थिए । त्यसपछि यी दुवै गाउँमा कोही पनि महिलाले नागरिकता बनाएका छैनन् ।

विसं २०६०/६१ मा त्यहाँका महिलालाई हेटौँडा ल्याएर नागरिकता बनाउन आफूले सहयोग गरेको महिला बचत तथा ऋण सहकारी संस्था लि भीमफेदीकी निवर्तमान अध्यक्ष मङ्गलदेवी श्रेष्ठले बताइन् ।

नागरिकता बनाएको समय स्मरण गर्दै उनी भन्छिन् “हामीले त्यसबेला नागरिकता बनाएर ल्याएको भोलिपल्ट नै एक वृद्ध महिलाको त निधन भएको थियो ।”

प्लान नेपाल मकवानपुरको सहयोगमा ग्रामीण महिला सेवा केन्द्रले त्यसबेला नागरिकता बनाएपश्चात् हालसम्म अन्य महिलाले नागरिकता नबनाएको श्रेष्ठको भनाइ छ ।

भीमफेदी गाविसका सचिव बद्रीप्रसाद सापकोटाले नागरिकता र सम्पत्तिको सम्बन्ध देखाउँदै यस ठाउँमा अधिकांशको आफ्नो नामको जमिन नभएकाले पनि नागरिकता बनाउन तत्परता नदेखाएको बताए ।

उनले भने – “सम्पत्तिसँग पनि नागरिकता जोडिँदोरहेछ यी वडामा आफ्नो नाममा जग्गा नहुनुले पनि नागरिकतामा प्रभाव पारेको छ ।”

सचिव सापकोटाले यी गाउँका महिला तथा बालबालिका कानुनी अधिकारबाट समेत वञ्चित रहेको जानकारी दिए ।

सचिव सापकोटाले यी गाउँका पुरुष रोजगारीका लागि खाडी मुलुकमा जानुपर्ने कारणले सबैको नागरिकता बनाएको तर चेतनाको कमीका कारण महिलाको नागरिकताको आवश्यकता नै महसुस नगर्ने गरेको बताए ।

नागरिकता बनाउन पहल गर्दा पनि यहाँका महिलाको कागजपत्र नै पूरा नहुने बताउँदै सचिव सापकोटाले भूकम्पपछि बालबालिकाको पोषणका लागि आएको रकम वितरण गर्न बच्चाको जन्मदर्ता माग्दासमेत नागरिकताका कारण जन्मदर्ता गर्न नसकेको र बाध्य भएर बाबुको नागरिकताका आधारमा बच्चाको जन्मदर्ता गराइदिएको बताए ।

नागरिकता बनाउन कागजपत्र नै पूरा लिएर नआउने र नागरिकता बनाउनुपर्नेबारे बताउँदा पनि यी गाउँका पुरुषले नै त्यति पहल नगर्ने सचिव सापकोटाको भनाइ छ ।

भीमफेदी गाविसकी सामाजिक परिचालिका इच्छा लामाले यी गाउँमा दिउँसोको समयमा कसैलाई पनि घरमा नभेटिने र काम गर्न सक्ने उमेरका पुरुष त झन् चाडबाडमा मात्र घर आउने गरेको बताइन् ।

सामाजिक परिचालिका लामाले यहाँका महिलाले नागरिकता बनाउन आउँदा घरको काम बित्ने भन्दै यो झन्झट नगरौँ भन्ने गरेको बताइन् ।

भीमफेदी–३ उर्लाघारीकी कान्छीमाया चेपाङको विवाह भएको नौ वर्ष भयो उनी पाँच सन्तानकी आमा हुन तर उनको नागरिकता बनेको छैन र किन नबनाएको भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्–“आ, मेरो नागरिकताले के हुन्छ र बारी खन्न नागरिता चाहिँदैन पो, श्रीमान्लाई पो परदेश जानुपर्छ त ।”

यो त यस ठाउँका महिलाले दिने जवाफको एउटा उदाहरण मात्र हो । यहाँ कान्छीमाया जस्तै बहुसङ्ख्यक महिलाको नागरिकता छैन ।

यस्तै, ३४ वर्षीया बुद्धिमाया स्याङतान दुई बच्चाकी आमा हुन् र कान्छीमायाको जस्तै उहाँको पनि नागरिकता छैन ।

भीमफेदी–५ सोलाभञ्ज्याङका वडा नागरिक मञ्चका अध्यक्ष भीमबहादुर गोम्जाले यहाँका महिलाले नागरिकता बनाउन चासो नदेखाएको भन्दा पनि पुरुषले नै महिलाको नागरिकता हुनुपर्छ भन्ने महसुस नगरेकाले नागरिकता बनाउन महिला नजाने बताए । रासस