
सार्बजनिक निस्कासन गर्ने वित्तीकै १ हजार १ सयभन्दा बढी ब्यक्तिले ११ लाख डलर (करिव ११ करोड रुपैयाँ) भन्दा बढी लगानी गरेका छन् ।
एउटा स्टार्ट अप कम्पनीले गरेको सेयर निस्कासनमा यति धेरै लगानी सुरुआतमै जुट्नु उत्साहजनक हो ।
यहि बेलामा केहि सवालहरु पनि उठेका छन, सगुनले निस्कासन गरेको सेयर कुनै स्टक एक्स्चेन्जमा लिस्टिङ नहुने तथा लगानीकर्ताहरुको लगानीको सुरक्षाको सवालहरु पनि उठाइएका छन् ।
तर केहि सैद्धान्तिक कुरा प्रष्ट हुन भने सबैले जरुरी छ ।
मिनी आइपिओ के हो ? के कुनै एक्स्चेन्जमा सूचिकृत नहुने वित्तिकै लगानीकर्ताले त्यसमा गरेको लगानी डुबिहाल्छ ? सगुनले यि सबैको जवाफ सम्भावित लगानीकर्तालाई आफ्नो वेवसाइट(sagoon.com/invest) मार्फत जनाएकोे छ ।
यस बारेमा सगुनले वेभसाइटमा भनेको छ, ‘तत्काल सगुनको सेयर लिस्टिङ हुँदैन ।’ यसको सेयरमा लगानी गर्नुअघि कति लगानी गर्ने वा नगर्नेबारे वित्तीय सल्लाहकारहरुसँग सल्लाह गर्न पनि उसले आग्रह गरेको छ ।
यसको अर्थ सगुनले सर्बसाधारणलाई सचेत भएर लगानी गर्न भनेको हो । यस्तो अबस्थामा सगुनले कसैलाई भ्रममा पार्न आवश्यक छैन र आफूहरुको उद्धेश्य पनि त्यस्तो नरहेको यसका संचालकहरुले बताएका छन् ।
सगुनले निस्कासन गरेको सेयर के हो र यसका प्रक्रियाहरु के के हुन त भन्ने बारेमा पनि बुझ्न आवश्यक भएको छ ।
मिनी आइपिओ के हो ?
अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकाले भर्खरै उदाउँदै गरेका कम्पनीलाई लगानी जुटाउन त्यहाँको नियामक निकायले सेयर निस्कासन गर्न दिइने अनुमतिलाई विशेष गरि अमेरिकी संचारमाध्यमले मिनि आइपीओ नाम दिएका हुन् ।
नेपालीले स्थापना गरेको कम्पनी सगुनले अमेरिकी बजारमा सेयर निस्कासन गर्न पाउनु आफैं गौरवको कुरा हो । साना लगानीकर्ताले समेत एउटा आइटी स्टार्टअप कम्पनीमा लगानी गर्न पाउनु आफैंमा अभूतपूर्व अबसर पनि हो ।
सर्बसाधारणले समेत उदाउँदा कम्पनीहरुमा लगानी गर्न सकुन भनेर अमेरिकाले ल्याएको नयाँ कानुनी प्रावधान हो यो ।
यस कानुनअनुसार आम नागरिकले निजी रुपमा लगानी गरिएका कम्पनीहरुमा ती कम्पनीहरुको शेयर सार्वजनिक रुपमा कारोबार हुनुअगाडि लगानी गर्न पाउँछन् ।
यस कानुन बन्नुअगाडि प्राय स्टार्ट अप कम्पनीहरुमा थोरै आम्दानी भएका ब्यक्तिहरुले लगानी गर्न पाउँदैनथे ।
त्यतिखेर कम्तीमा १० लाख अमेरिकी डलर बराबरको खूद सम्पत्ति वा २ लाख ५० हजार डलर वार्षिक आय भएका व्यक्तिहरुले मात्रै सुरुको चरणमा लगानी गर्न पाउँथे ।
कम्पनीले शेयर निष्कासन नगरेसम्म त्यस्तै लगानीहरुबाट कम्पनीलाई ठूलो बनाउने काम गर्नुपर्दथ्यो ।
शेयर निष्कासनअघिको अवस्थामा वृद्धिदर धेरै हुने र त्यसपछिको अवस्थामा वृद्धिदरमा कमी आउने भएकोले अगाडि लगानी गर्न पाउने धनी लगानीकर्ताहरुले पछि लगानी गर्न पाउने अलि कम धनी लगानीकर्ताभन्दा बढी प्रतिफल पाउँथे ।
अहिले रेगुलेशन ए प्लस (मिनी आईपीओ) को नियमानुसार लगानी गर्न धनी हुनैपर्छ भन्ने प्रावधान हटेको छ । तपाईंले आफ्नो कुल सम्पति वा वार्षिक आयको १० प्रतिशतभन्दा बढी लगानी नगर्ने प्रतिबद्धता भने गर्नुपर्छ ।
अहिलेका फेसबुक, ट्वीटरजस्ता चर्चित कम्पनीहरुले सुरुमा यसैगरी लगानी जुटाएका थिए ।
तिनमा सुरुमा बार्षिक २ लाख ५० हजार डलरभन्दा बढी आम्दानी गर्नेहरुले मात्र लगानी गर्न पाएका थिए । तिनीहरुले अहिले पाएको प्रतिफलबारे बताइरहनु पर्छ र ? त्यतिखेर फेसबुकमा गरिएको १ डलर लगानी एक दशक नवित्दै १२ सय डलरमा पुगेको छ ।
सगुनको सेयर लिस्टिङ हुँदैन ?
सगुनमा अहिले गरिने लगानी संस्थापक सेयरमा गरेका लगानी जस्तै हो । संस्थापक सेयर साधारण सेयर निस्कासन नगरी बेच्न पाइंदैन । नेपालकै उदाहरण हेरौं । नेपालका सीमित बैंकका संस्थापक सेयरधनीले नेप्सेमा लिस्टिङ भएर मात्र सेयर किनबेच गर्न पाएका छन् ।
यसको अर्थ उनीहरुको सेयर किनबेच भएकै छैन त ? उनीहरुले बैंकले गरेको नाफाबाट लाभांश पाएका छैनन त ? अबस्य छन् ।
यस्तो सेयर संस्थापकहरुबीच सजिलै किनबेच हुन्छ । कम्पनीले गरेको नाफाअनुसार उनीहरुले लाभांश पाउँछन् ।
भर्खरै कार्यान्वयनमा आएको बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)ले बैंकको संस्थापक सेयर १० बर्षपछि नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर मात्र क्रमशः साधारण सेयरमा परिणत गर्न पाउने प्रावधान राखिएको छ ।
सगुनको सेयर पनि आइपिओ निस्कासन पछि अमेरिकी स्टक एक्स्चेन्जमा सूचिकृत हुन्छ । त्यसपछि सजिलै किनबेच गर्न सकिन्छ । त्यसका लागि केही समय भने कुर्नु पर्छ ।
सगुनको मिनी आइपिओ र स्टक मार्केटमा पाइने शेयरमा के फरक छ ?
सिद्धान्ततः दुबै उस्तैउस्तै हुन् । यिनीहरुको बीचको तात्विक अन्तर भनेको कम्पनी कुन अवस्थामा रहेको बेलामा शेयर किन्ने भन्ने मात्र हो । एकछिन फेसबुक कम्पनीको उदाहरण हेरौ ।
फेसबुक सन् २००४ तिर स्टार्टअप कम्पनीको हैसियतमै थियो । यसको आफ्नै प्रशस्त लगानी थिएन । प्रयोगकर्ता पनि थोरै थिए । यसको भविष्य अनिश्चित थियो । उसको अबस्था अहिलेको सगुनको जस्तै थियो ।
त्यसबेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्थ्यो । मानिसहरु किन्न हिच्किचाउँथे । त्यसबेला एक डलरमा बेचेको फेसबुकको शेयरको मूल्य अहिले बजारमा करिब १२ सय डलरभन्दा बढी पर्छ ।
त्यसबेला फेसबुकको सेयर नकिन्नेहरु अहिले स्टक मार्केटबाट १२ सय डलर तिरेर किनिरहेका छन् ।
अहिले त्यति मूल्य तिरेर किन्नेहरुको सेयर मूल्य पहिले किन्नेहरुको जत्तिकै बढ्ला त ? गाह्रो छ । यसरी फेसबुक स्टार्टअप कम्पनी भएको बेलामा शेयर किन्नेहरुले राम्रो आम्दानी गर्न सफल भए ।
सगुन अहिले स्टार्टअप कम्पनी हो । सामान्य बुझाइमा यसको भविष्य अझै अनिश्चित छ । त्यसैले त यसको शेयर मिनी आइपिओमा सस्तोमा पाइएको छ ।
सगुनले प्रगति गर्दै गएपछि भोलिका दिनमा दिने प्रतिफल फेसबुकको जस्तै वा त्यसभन्दा कम बढी हुनसक्छ ।
स्टार्टअप कम्पनीको शेयरमा गरिएको लगानी ‘चिठ्ठा’ परेको जस्तै मानिन्छ । स्टार्टअप कम्पनीमा शेयर हाल्न पाइयो र त्यो कम्पनी सफल भयो भने लगानीकर्ताले पाउने प्रतिफल ठूलो धनराशीको चिठ्ठा परेको जस्तो हुनसक्छ ।
त्यही भएर यस्ता कम्पनीमा लगानी गर्नेहरु कम्पनीले प्रदान गर्ने लाभांशभन्दा शेयर मूल्य बृद्धिप्रति अत्यधिक आकर्षित हुन्छन् । लगानीमा जोखिम र फाइदा सिक्काको दुइवटा पाटा जस्तै भएर संगै हिड्छन् ।
सगुन डटकम के हो ? sagoon.com/invest
सगुन इंक अमेरिकामा दर्ता भएको स्टार्टअप आइटी कम्पनी हो । यसले भारतको नयाँदिल्ली र काठमाडौंमा कार्यालय स्थापना गरेर आफ्ना प्रोडक्टहरु डेभलपमा लागिरहेको छ ।
एक अर्कालाई सामाजिक संजालमा जोड्ने फरक प्लेटफर्म उपलब्ध गराउने र यसले आफ्ना प्रयोगकर्ता बढाएर गरेको आय तिनै प्रयोगकर्तालाई बाँड्ने फरक अवधारणाका साथ ब्यवसायिक योजना सार्बजनिक गरेको छ ।
सगुनमा अहिले लगानी गर्दा भोलि यसले आफ्नो स्वरुप फेसबुकले जस्तै विस्तार गरेको अबस्थामा त्यसको प्रतिफलको हकदार तिनै सेयरधनी हुने छन् ।
नेपालकै उदाहरण हेर्दा एक दशकअघि नेपाल लिभरको १ हजार रुपैयाँको सेयर किन्नेहरुको सेयर मूल्य अहिले ३ लाख रुपैयाँ नाघेको छ ।
तीन दशकअघि तत्कालीन नेपाल अरब बैंक (अहिलेको नविल बैंक) मा ६ सय रुपैयाँ लगानी गर्नेहरुको सम्पत्ति अहिले १ लाख रुपैयाँभन्दा बढी भएको छ ।
लगानीकर्ताले बर्षेनी पाएको नगद लाभांशको त हिसावै छैन । नेपाल लिभरका १० वटा सेयरमा १ हजार लगानी गर्नेहरुले यस बर्षमात्र १० हजार रुपैयाँ नगद लाभांश बुझेका छन् ।
सुरुआतको कम्पनी भएको सगुनको भविष्यको अनुमान अहिल्यै लगाउन सकिन्न । त्यसैले यसमा लागनी गर्नु जोखिम मोल्नु जस्तै हो । त्यसैले बजारमा यसको सेयर मूल्य पनि कम छ ।
हुनतः सगुनको सुरुआतमा लगानी गर्ने संस्थापक लगानीकर्ताको सम्पत्तिको बजार मूल्य अहिले ४६ गुणाले बढी सकेको छ ।
त्यसैले सगुनले प्रतिसेयर २३ डलरका दरले मिनी आइपिओ विक्री गर्ने अनुमति पाएको हो । भोलि यही दरमा मूल्य नबढ्ला भन्न सकिन्न । त्यसैले आफ्नो क्षमताअनुसार लगानी गर्न उत्तम हुन्छ ।
प्रतिक्रिया दिनुहोस्