२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


निकुञ्ज विस्थापित र प्रहरीबीच झडप, १० राउन्ड अश्रुग्यास प्रहार


0
Shares

                                                                                       फाइल फोटो
शुक्लाफाँटा निकुञ्ज जग्गा अधिग्रहण र मुआब्जा उपलब्ध गराउन गठित कार्यदलले काम सुरु गरेसँगै विस्थापितहरु झन्डै दुई सातायता आन्दोलनमा छन् ।

दबाब दिने उद्देश्यले विहीबार बिहान १० देखि ५ बजेसम्मका लागि अवरुद्ध पारेको पूर्व–पश्चिम राजमार्गको कलुवापुरखन्ड खुलाउनेक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

झडपले उग्ररुप लिनथालेपछि शान्ति–सुव्यवस्था कायम राख्न प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

तीन सयभन्दा बढीको संख्यामा राजमार्ग अवरुद्ध गर्न पुगेका विस्थापितले पुनःस्थापनाको माग गर्दै यसअघि सदरमुकाम भीमदत्तनगरमा पनि विभिन्न दबाबमूलक कार्यक्रम गरेका थिए ।

विस्थापितको समस्या समाधानका लागि गठित २८औं आयोगको प्रतिवेदनअनुसार देखिन आएका एक हजार ४८० परिवारको अद्यावधिककार्य सुरु भएसँगै विस्थापितले असहमति जनाउँदै आएका छन् ।

आयोगका प्रतिवेदनअनुसार विस्थापित परिवारको कागजात छानबिन गरी जग्गा मुआब्जा वा आर्थिक राहत दिने कार्यदलले तयारी गरेको थियो ।

तर, विस्थापितले दुई हजार ४७३ परिवार पूर्णरुपमा विस्थापित रहेको दाबी गर्दै सबैलाई सम्बोधन गर्नुपर्ने माग राख्दै आएका छन् ।

वि.सं. २०५८ मा निकुञ्ज विस्तारकाक्रममा जग्गाको प्रमाणपुर्जा भएकालाई सरकारले प्रतिपरिवार १० कट्ठा जग्गा उपलब्ध गराएको थियो ।

अद्यावधिक तथ्यांक फाराम भर्न कार्यदलको सम्पर्क कार्यालय भीमदत्तनगरमा स्थापना गरिएको छ ।

कार्यदलले अद्यावधिकका लागि विस्थापितलाई फागुन १ देखि आगामी वैशाख २ गतेसम्मका लागि समयसीमा तोकेको छ ।

तर, विस्थापितहरु मुआब्जा र राहत रकमप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन् । रासस