
विशेषगरी तीन ठूला दलसमर्थित राजनीतिक दल र तिनका विद्यार्थी संगठनबीचको विवादका कारण काठमाडौैं उपत्यकाका कतिपय क्याम्पसहरुमा उम्मेदवारी दर्ता हुन सकेको छैन ।
काठमाडौंका विभिन्न सरकारी क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । जसका कारण शनिबार (आज)का लागि तोकिएको मनोनयन साँझ अबेरसम्म हुन सकेको छैन ।
तालाबन्दी खुलाएर मनोनायन दर्ता गराउने विषयमा भएको विवादले शनिबार काठमाडौंको रत्नराज्य क्याम्पस क्षेत्रमा दिउँसो विद्यार्थीहरुबीच झडप भएको थियो ।
नेपाली कांग्रेसनिकटको नेपाल विद्यार्थी संघ र नेकपा एमालेनिकटको अनेरास्ववियु समर्थित विद्यार्थी संगठनबीच विवाद भएको हो । विवादमा परी नेविसंघका केही विद्यार्थीहरु घाइते भएका छन् ।
झडपपछि रत्नराज्य क्याम्पस क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस्तै, काठमाडौंको त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
मीनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीहरुले शुक्रबार राति लेखाशाखामा आगजनी गरिदिएका छन् ।
यस्तै, विश्वभाषा क्याम्पसमा वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीले विद्यार्थीको रजिस्टर जलाएका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सात विद्यार्थी संगठनहरुले शुक्रबार तालाबन्दी गरेका छन् ।
यस्तै, ललितपुरको पाटन संयुक्त क्याम्पसमा पनि तालाबन्दी भएको छ ।
संविधान संशोधनबिना स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको भन्दै असन्तुष्ट मधेसकेन्द्रित दलनिकट विद्यार्थीहरुले तराई–मधेसका क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।
राजधानीका क्याम्पसहरुमध्ये धेरैजसोमा मोहन वैद्य तथा नेत्रविक्रम चन्द नेतृत्वका माओवादीनिकट विद्यार्थी संगठन, केहीमा नेवि संघ तथा केहीमा नयाँ शक्ति पार्टीनिकटका विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा फागुन १८ गतेका लागि स्ववियु निर्वाचन तय गरिएको छ ।
हरेक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक ८ वर्षपछि हुँदैछ ।
यसपटक स्ववियु निर्वाचनकै इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित चुनाव प्रणाली अपनाइँदैछ ।
तर, मनोनयन दर्ता नै हुन नदिने गरी तालाबन्दी भएकाले समयमै ८ वर्षपछि हुन लागेको निर्वाचन नै नहुने खतरा बढेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्