सोमबार राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो ।
सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी ‘प्रचण्ड’ र नेविसंघले संयुक्त तथा एमालेनिकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले संयुक्त समूह बनाएर उम्मेदवारी दिएका छन् ।
अखिल क्रान्तिकारी ‘प्रचण्ड’का महासचिव एवं सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतले अनेरास्ववियु र विप्लवनिकट क्रान्तिकारीले आफ्नो समूह हार्ने डरले क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको आरोप लगाए ।
यता, अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले आजै (मंगलबार) पत्रकार सम्मेलन गरेर आरोपको खन्डन गरी आगजनीबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय सदस्य श्यामसुन्दर बस्नेतले सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतको समूहले आगजनी गरेको जिकिर गरे ।
उनले भने–‘रातभरि हाम्रो प्यानललाई क्याम्पसमा छिर्न दिइएको छैन, सरकार पक्ष क्रान्तिकारीका साथी क्याम्पसभित्र बसेका छन्, चारैतिर प्रहरी तैनाथ भएकैबेलामा आगजनी भएको छ, प्रहरीले आगजनी गर्नेलाई पक्राउ नगरी मूकदर्शक भएको छ ।’
अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई बद्नाम गर्ने उद्देश्यले आगजनी भएको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गरेपछिमात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखे ।
अखिल क्रान्तिकारी (विप्लव) समूहका केन्द्रीय सदस्य एकराज डाँगीले भक्तपुरका प्रहरी प्रमुख किरण राणाको नेतृत्वमा क्याम्पसमा खटिएको टोलीले अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई क्याम्पसभित्र छिर्नसमेत नदिएको आरोप लगाए ।
क्याम्पस प्रमुख घिमिरेले भने निर्वाचन नरोकिने बताए । क्याम्पसमा कुनैपनि बेला दुईपक्ष विद्यार्थीबीच झडप हुनसक्ने भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । रासस





प्रतिक्रिया दिनुहोस्