सरकारले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्री दाहालले लगानी सुरक्षाका लागि सरकार पूर्णप्रतिबद्ध रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरे ।
उनले संविधान जारीपछि मुलुक आर्थिक विकासमा केन्द्रित भएको, लगानीको वातावरण तयार हुँदै गएको र राजनीतिक दल पनि आर्थिक मुद्धामा एकजुट भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
लगानी लिएर आउनेको जिम्मा सरकारले लिने प्रतिबद्धता उनले व्यक्त गरे ।
सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउन दलहरु पूर्ण प्रतिबद्ध रहेको बताए । उनीहरुले लगानीको वातावरण तयार पार्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन लिक्वानले नेपालको विकासका लागि नेपाल सरकार एवं निजी क्षेत्रसँग काम गर्ने इच्छा व्यक्त गरे ।
उनले पूर्वाधार लगानी बैंकले जनताले चाहेको परियोजनामा मात्रै लगानी गर्ने भन्दै नेपालको जलविद्युत् एवं प्राकृतिक स्रोतमा काम गर्न इच्छुक रहेको बताए ।
सम्मेलनमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी आकर्षित गर्न नेपालले अवलम्बन गर्दै आएको नीतिगत व्यवस्थाबारे जानकारी गरे ।
अर्थमन्त्री कृष्णबहादुर महरा, उद्योग मन्त्री नविन्द्रराज जोशी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीका लागि सरकारले अलम्बन गरेका नीति स्पष्ट रहेकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।
शुक्रबारसम्म चल्ने सम्मेलनमा २५ मुलुकका २ सय ५० विदेशी तथा झन्डै ३ सय स्वदेशी लगानीकर्ता सहभागी छन् । सम्मेलनमा विभिन्न क्षेत्रमा करिव एक खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आउने सरकारले आशा गरेको छ ।









प्रतिक्रिया दिनुहोस्