-सरोज अधिकारी, ईमेज
कतिपय नेताहरुले भने निर्वाचनको मुखैमा सरकार परिवर्तनको खेललाई चुनाव टार्ने षड्यन्त्रको रुपमा लिएका छन् । सत्ता प्राप्तिकै छिनाझम्टीमा रम्ने नेपाली नेताहरुको विशेषता नै बनिसकेको छ ।
संसदीय व्यवस्थामा सामान्यत पाँच वर्षका लागि हुने निर्वाचनले एउटा सरकार दिन्छ र, विपक्षमा रहेकाले गुण र दोषका आधारमा सरकारको आलोचना गर्छन् ।
तर हामी सिद्धान्त यही भए पनि नेपाली राजनीतिक दलका नेताहरुले भने त्यसको विपरित अभ्यास गरिरहेका छन् ।
झन्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन फेरी यही सत्ता परिवर्तनको खेलसँगै धुमिल हुने त होइन भन्ने प्रश्न उठ्न थालिसकेको छ ।
पछिल्लो पटक २०७० सालमा भएको संविधानसभाको निर्वाचनपछि ३ पटक सरकार परिवर्तन भईसक्यो । अहिले आएर पुनः सत्ता परिवर्तनको खेल सुरु भएको संकेतहरु आउन थालेका छन् ।
सरकार परिवर्तनका लागि खेल भइरहेको चर्चाले आम सर्वसाधारणलाई भने चिन्तित तुल्याएको छ ।
अहिले सत्तामा रहेको कांग्रेस नेतृत्व आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छ । तर कांग्रेस नेताहरु भने आगामी वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचन नहुँदासम्म नेतृत्वको लोभ गर्न नहुने बताउँछन् ।
कांग्रेस नेता डा. नारायण खड्का स्थानीय तहको निर्वाचन अघि सरकारको नेतृत्व गर्ने लोभ गरिए मुलुक दुर्घटनामा फस्ने बताउँछन् ।
मधेसी मोर्चाका केही घटकबाट पनि सरकार परिवर्तन भए निर्वाचन जान सकिन्छ भन्ने अभिव्यक्ति आइरहेको छ ।
तर, मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भने यसलाई अस्वीकार गर्छन् ।
उनले सरकार परिवर्तनको खेलमा आफूहरु नजाने र जुन सरकार भए पनि संविधान संशोधन नहुँदासम्म आन्दोलन नरोकिने बताए ।
प्रमुख विपक्षी दल एमालेले सरकारको नेतृत्वका लागि पहल गर्नु अस्वाभाविक होइन । तर, निर्वाचन घोषणा भइसकेको अवस्थामा सत्ता परिवर्तनको खेलमा लाग्नु उसका लागि घातक सिद्ध हुनसक्छ ।
विपक्षी घटक नेकपा मालेका महासचिव सिपी मैनाली स्थानीय तहको निर्वाचन अघि सरकार परिवर्तनको बहस नै गर्न नहुने बताउँछन् ।
संविधान कार्यान्वयनका लागि एकजुट हुनुपर्ने बेलामा राजनीतिक दलहरु सत्ता परिवर्तनको खेलमा लाग्नु पक्कै पनि दुःखद हो ।
आगामी माघ ७ गतेभित्र तीन वटै निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यताको बेवास्ता गर्दै राजनीतिक दलहरु सत्ता परिवर्तनको खेलमा लागेर संविधान नै असफल बनाउने बाटोमा लागे भने नेताहरुबाट सदाचार र निर्वाचनप्रतिको विश्वास र सुशासनको के अपेक्षा गर्ने ?





प्रतिक्रिया दिनुहोस्