२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अवैध रुपमा भित्रिएको अण्डा समात्ने प्रहरीलाई पुरस्कार दिइने


0
Shares

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले अवैध रुपमा आएको अण्डा समाएको खण्डमा प्रतिपेटी ५०० रुपैयाँका दरले पुरस्कार दिने निर्णय भएको जनाए ।

यसअघि अवैध आएका कुखुराका चल्ला समाउने प्रहरीलाई प्रतिचल्ला रु पाँचको दरले पुरस्कार दिने व्यवस्था थियो । अण्डामा भने हालसालै मात्रै पुरस्कार दिने निर्णय भएको केसीले जानकारी दिए ।

अण्डाको अवैध आयातलाई पूर्ण रोक्नका लागि व्यवसायीले यस्तो निर्णय गरेको र अण्डा र कुखुरा व्यवसायी मिलेर एक रुपताका साथ अघि बढ्न जरुरी रहेको केसी बताउँछन् ।

नेपाल अण्डा र कुखुरामा आत्मनिर्भर भएकाले आयात गर्नु नपर्ने व्यवसायी ज्ञानबहादुर विसुराल बताउँछन् ।

हाल नेपालमा प्रतिव्यक्ति ५५ वटा अण्डा खपत हुँदै आएको छ । देशमा दैनिक २२ लाख बढी अण्डा उत्पादन हुन्छ । नेपालको उत्पादनको ६८ प्रतिशत चितवनमा उत्पादन हुन्छ ।

अण्डा समाउने सुरक्षाकर्मीका लागि पनि पुरस्कार दिने निर्णय भएको र अहिले कार्यान्वयनको चरणमा रहेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले जानकारी दिए ।

उनका अनुसार यो वर्ष कुखुराका चल्ला समातेबापत मात्रै रु ६ लाख बढी पुरस्कार रकम दिइएको छ । उत्पादनको करिब ९० प्रतिशत अण्डा काठमाडौँ, पोखरालगायत पूर्वी नेपालमा जाने गरेको केसीले बताए ।

नेपालमा एक हजार ५०० अण्डा व्यवसायीमध्ये करिब ७०० चितवनमा छन् । नेपालमा कुखुरा व्यवसायमा झन्डै ७५ अर्ब लगानी भएको छ । (रासस)