Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


मधेसी मोर्चाको अवरोध छिचोल्दै एमालेको जुलुस सप्तरीमा


0
Shares

मधेसी मोर्चाको बन्द र अवरोध पार गर्दै हजारौंको संख्यामा रहेका एमाले कार्यकर्ता तथा सर्वसाधारण भारदह हुँदै सप्तरी प्रवेश गरेका हुन् ।

झन्डै ७०० ओटा सवारी–साधनसमेत रहेको यात्राले राजमार्गमा सात किलोमिटर ढाकेको प्रहरीले जनाएको छ ।

एमाले अध्यक्ष केपी ओलीसहितका सबै शीर्ष नेताहरु पनि सप्तरी पुगेका छन् । एमालेको यात्रालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिएको छ भने अध्यक्ष ओलीलाई सशस्त्र प्रहरीले विशेष सुरक्षा गरिरहेको छ ।

सुनसरीको इनरुवामा कार्यक्रम सम्पन्न गरेर अघि बढेको एमाले जुलुसलाई कोसीपुल पार गर्नेबित्तिकै सप्तरीवासीले स्वागत् गरेका थिए ।

भारदह, रुपनी र उदरपुर क्षेत्रबाट गाउँ–गाउँबाट आएका सर्वसाधारण एमाले जुलुसमा सहभागी भएका हुन् । सप्तरी प्रवेश गर्ने नाकामै मधेसी मोर्चाका कार्यकर्ताले कालोझन्डा देखाएका थिए ।

एमालेले राजविराजको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आमसभा गरिरहेको छ । सभास्थल वरपर सयौं प्रहरी परिचालन गरिएको छ ।

एमालेको सभास्थल प्रवेश गर्न खोज्ने मोर्चाका कार्यकर्ता र प्रहरीबीच सभास्थलनजिकै झडप हुँदा झन्डै डेढ दर्जन मोर्चाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्यक्रमस्थलमा प्रवेश गर्ने एमाले कार्यकर्तालाई ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याससमेत प्रहार गरेको छ ।

यता, कार्यक्रमस्थलबाट दुई किलोमिटर टाढा मोर्चाका कार्यकर्ताले राखेको दुईओटा सकेट बम नेपाली सेनाले निष्कृय गरेको छ ।

करिब एक हजारको संख्यामा रहेका मोर्चाका कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरी तितरवितर पारेको छ ।

एमालेलाई सप्तरीमा प्रवेश नदिने भन्दै जिल्ला बन्द आह्वान गरेको मोर्चाका कार्यकर्ताले सोमबार बिहानैदेखि सप्तरीका विभिन्न स्थानमा टायर बालेर अवरोध गर्नुका साथै प्रदर्शनसमेत गरिरहेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा केही सवारी–साधन तोडफोड गरेका छन् । प्रहरीसँगको झडपमा मोर्चाका केही कार्यकर्ता घाइतेसमेत भएका छन् ।