Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रधानमन्त्रीलाई सात दिने अल्टिमेटमसहित मोर्चाले बुझायो ज्ञापनपत्र


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर मोर्चाका नेताहरुले आफ्ना माग पूरा नभए सरकारलाई दिइएको समर्थन सात दिनपछि नरहने जानकारी गराएका हुन् ।

मोर्चामा आबद्ध सात दलका नेताले प्रधानमन्त्री दाहाललाई भेटेर स्थानीय निर्वाचनका सबै कार्यक्रम फिर्ता लिन पनि माग गरे ।

उनीहरुले संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने, स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकारभित्र राखिनुपर्ने तथा सरकार गठन गर्दा भएको तीनबुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेको छन् ।

सात दिनभित्र माग पूरा नभए सरकारसँग संवादको ढोका बन्द गरेर आन्दोलनमा जाने चेतावनी नेताहरुले दिएका छन् ।

सप्तरीमा सोमबार भएको घटनामा मारिएकालाई सहिद घोषणा गरी क्षतिपूर्ति दिन र घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नपनि नेताहरुले सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्री दाहालले भने मोर्चाका नेताहरुलाई पनि समस्या समाधानमा लाग्न आग्रह गरे ।

आन्दोलनका लागि नहतारिन सुझाव दिँदै प्रधानमन्त्री दाहालले माग सम्बोधनका लागि अधिकतम् प्रयास गरिने आश्वासन दिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामबहादुर थापालगायत नेता पनि सहभागी थिए ।

यसअघि, मंगलबार (हिजो) काठमाडौंमा बैठक गरी मोर्चाका नेताहरुले फागुन २७ गते नेपाल बन्द गर्नेसहितका माग सार्वजनिक गरेका थिए ।

Skip This