Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


प्रमुख निर्वाचन आयुक्तलगायत एमाले नेताका घरमा तोडफोड


0
Shares

राजविराज–९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

कडा सुरक्षा व्यवस्था भएपनि आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादवको घरमा ढुंगामुढा गर्दा झ्याल र ढोकाको सिसामा क्षति पुगेको छ । आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादवविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।

यसैगरी, मोर्चाको कार्यकर्ताहरूले व्यवस्थापिका–संसद महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाको राजविराज–९ स्थित सम्पर्क कार्यालयामासमेत तोडफोड गरेका छन् । उनी एमाले सांसद हुन् ।

तोडफोडबाट भाडामा रहेको उक्त कार्यालयको झ्याल–ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आन्दोलनको तेस्रो दिन अत्यन्त आक्रमकरुपमा प्रस्तुत् भएका मधेसी मोर्चाका कार्याकर्ताले एमाले सर्मथक एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य कामानन्द देवद्वारा सन्चालित राजविराज–९ तेतरी गाछीस्थित ‘लिटिल फलावर’ सेकेन्ड्री स्कुलमा पनि तोडफोड गरिएका छन् ।

स्कुलमा रहेका कुर्सी टेबुल, झ्याल–ढोकालगायतका फर्निचर तोडफोड गरिएको बताइएको छ ।

त्यस्तै, राजविराज–५ स्थित नेकपा एमाले पार्टी कार्यालयमा रहेको पार्टीको झन्डा झिकेर जलाइएको छ ।

त्यसैगरी, स्थानीय तह निर्वाचनको विरोध गर्दै मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमासमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । तोडफोडका कारण कार्यालयको साइनबोर्ड तथा झ्याल–ढोकामा क्षति पुगेको छ ।

त्यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको राजविराज–४ स्थित घरमा पनि आन्दोलकारीले ढुंगामुढा गरी सामान्य क्षति पुर्‍याएको प्रहरीले बताएका छन् । रासस