२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेकपा अध्यक्षद्वयद्वारा श्रद्धाञ्जलि, शोक प्रस्ताव पारित


0
Shares

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएको छ ।

मध्याह्न १२ बजेसम्म उनको शव पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

अहिले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण घुइँचो लागेको छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन भएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बैठकले आज, भोलि र पर्सि दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

बैठकले यही फागुन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।