Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सप्तरी घटनाका मृतक चारैजनाको शनिबार शवयात्रा गरिने


0
Shares

राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सर्वपक्षीय बैठकले शव ल्याउने निर्णय गरेको मोर्चाका तर्फबाट राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल (अनुराग)ले बताए ।

साथै, सोमबार सप्तरीमा भएको घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएकालाई सहिद घोषणा, मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार खर्च, मृतक परिवारमध्ये एकजना सदस्यलाई जागिरको व्यवस्था सहितका मोर्चाले अघि सारेका मागलाई स्थानीय प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको सचिव मण्डलले जानकारी दिए ।

नेकपा एमालेको मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत एमालेले राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजना गरेको सभालाई बिथोल्ने क्रममा सोमबार प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर सप्तरी मलेठ–२ बस्ने २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, मलेठ–४ का वीरेन्द्र महतो र प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षीय सिनियर अहेव आनन्दकुमार साहको मृत्यु भएको थियो ।

उनीहरुको शवपरीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराई शनिबार राजविराजदेखि लहानसम्म शवयात्रा गर्ने निर्णय भएको बताइएको छ । लहानबाट पुनः मलेठ ल्याई तीनजनाको मलेठमै औद्योगिक क्षेत्र नजिक र प्रसवनीका साहको प्रसवनीमै दाहसंस्कार गरिने पनि मण्डलले बताए । (रासस)

Skip This