Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


टेलिकमले सेयरधनीलाई लाभांश वितरण गर्ने


0
Shares

कम्पनीको सोमबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७२/७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्तापुँजीको ५१ प्रतिशतकादरले सेयरधनीलाई नगद लाभांश वितरण तथा कम्पनीको नियमावलीमा संशोधनलगायतका विभिन्न प्रस्ताव पारित गरेको छ ।

कम्पनी सन्चालक समितिका अध्यक्ष एवं सूचना तथा सन्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा प्रतिवेदन पेस गर्दै कम्पनीले विगत वर्षमाजस्तै यस वर्ष पनि नेपालको दूरसन्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पुर्‍याएको बताए ।

उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत् आफ्नो बजार विस्तारलाई मजबुत गरिएको बताउँदै ‘व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनीले सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको छ’–भने ।

सचिव गुरुङले आव ०७२/७३ मा सेवा विस्तार, सन्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी गराउँदै सो अवधिमा कुल राजस्वमा ३ दशमलव ६८ प्रतिशतले वृद्धिगरी खुद मुनाफा रु १३ अर्ब ६८ करोड कायम राख्न सफल भएको बताए ।

गत आवको तुलनामा यो वर्ष १५ दशमलव ६५ प्रतिशतले ग्राहक संख्या वृद्धि भएको पनि उनले जानकारी दिए ।

सचिव गुरुङले कम्पनीलाई सक्षम र प्रतिस्पर्धी बनाई सेवाग्राहीले तिरेको सेवाको मूल्यलाई सन्तुष्टिमा परिणत गरिने बताउँदै रणनीतिक योजनालाई समयानुकूल बनाउने तथा आयोजनालाई समयमै सम्पन्न गर्न योजनाबद्धरुपमा अघि बढिने धारणा व्यक्त गरे ।

कम्पनीको लाभांश रकम आगामी चैत १ गतेदेखि सेयरधनीलाई वितरण गरिने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । रासस