१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मधेसी मोर्चाले गर्‍यो संसद बैठक बहिस्कार


0
Shares

                                                                                       फाइल फोटो
सभामुख ओनसरी घर्तीले संसदको मंगलबारको बैठक प्रारम्भ भएको घोषणा गरेपछि मोर्चासँग आवद्ध राजनीतिक दलका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका तर्फबाट सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई बोल्न समय प्रदान गरिन् ।

सांसद कर्णले मन्त्रिमन्डलमा नयाँ–नयाँ मन्त्रीको प्रवेश भएपनि सरकार देश र जनताको हितप्रति गम्भीर नभएको आरोप लगाए ।

उनले भने–‘सप्तरीमा मधेसी जनतामाथि भएको गोली प्रहारको घटनाले सरकार संवेदनशील नभएको देखाएको छ । मोर्चाले देशमा उत्पन्न समस्या समाधान गर्न प्रस्ताव गरेको संविधान संशोधनको मागलाई सरकार र प्रमुख दलबाट बेवास्ता गरिएको छ ।’

नेकपा एमालेबाट मधेसी समुदायको अपमानित गर्ने काम भएकामा उनको आपत्ति थियो ।

भैरहवामा पक्राउ परेका मोर्चाका कार्यकर्तालाई कुटेर यातना दिने काम भएको पनि उनले बताए ।

स्थानीय तहको पुनःसंरचना आयोगले मधेसीको प्रतिनिधित्व घटाउने काम गरेको आरोप लगाउँदै सांसद कर्णले भने–‘संविधान संशोधनको मागलाई सम्बोधन नगरिएसम्म आयोगको प्रतिवेदन र निर्वाचनलाई मधेस र मधेसी जनताले स्वीकार गर्ने छैनन् ।’

उनले भने–‘देश यस्तो जटिल अवस्थामा रहेकोबेला सभामुखको महत्वपूर्ण भूमिका रहन्छ । अहिलेको संक्रमणको हल निकाल्न सरकार र राजनीतिक दलबीच थप छलफल आरम्भ गराउन माग गर्दछौं ।’

मोर्चाको तर्फबाट मंगलबारको बैठक बहिस्कार गर्ने घोषणासँगसँगै उनी सदनबाट बाहिरिए । रासस