
नेवार परम्पराअनुसार ७७ वर्ष ७ महिना ७ दिन उमेर पुगेपछि भीमरथारोहण गर्ने चलन छ । तर, उक्त समारोहमा न कुनै रथ नै थियो न त भीमरथारोहणको कुनै परम्परागत विधि नै ।
बरु नेपालभाषाका प्रसिद्ध साहित्यिक व्यक्तित्व सायमिका तीन कृतिहरु यौन मनोविज्ञानमा आधारित कथा ‘मिजला’, अंग्रेजी अनुवादसहित पाँच कथारुको संग्रह ‘सिन्हः’ र भीमरथारोहणको अवसरमा ‘नःलि : मथुरा साय्मि विशेष अंक’ विमोचन गरियो ।
नःलि विमोचन गर्दै कवि दुर्गालालले आख्यानकार सायमिप्रति समर्पित कविता–अभिनन्दनपत्र प्रदान गरेका थिए भने इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले ‘मिजला’ तथा ‘सिन्हः’ प्रकाशनमा आर्थिक सहयोगी शीला सायमि, भवानी तुलाधर तथा शर्मिष्था श्रेष्ठले संयुक्तरुपमा ‘सिन्हः’ कथासंग्रह विमोचन गरेका थिए ।
कुतः पिकाकः र इलोहं प्रकाशनले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा आयोजक तथा अन्य विभिन्न संघ–संस्थाहरुले साहित्यक व्यक्तित्व सायमिलाई अभिनन्दन गरेका थिए भने प्राध्यापकसमेत रहेका सायमिका पूर्वविद्यार्थीहरुले पनि अभिनन्दनपत्र प्रदान गरेका थिए ।
चित्रकार अर्पिता शाक्यले आख्यानकार साय्मिको स्केच अर्पण गरेको उक्त कार्यक्रममा अनुवादकहरु धु्रवराज कर्णजित, हरिशंकर मानन्धर, राजेन मानन्धर, सिल्भिया राजेपाध्याय, प्रिति तपोरलाई पनि सम्मान गरिएको थियो ।
पुस्तकको आवरणपृष्ठ डिजाइनर सुमिता मानन्धर र साजन नकर्मीलाई पनि सम्मान गरिएको थियो ।
६ दशकदेखि कथा तथा उपन्यास लेखनमा सक्रिय सायमिद्वारा लिखित ‘मिजला’ कथा प्रकाशनपूर्व यस उपन्यासको शीर्षकबारे साामाजिक सन्जालमा सोधिएको प्रश्नको सही अनुमान गर्ने कन्चन ताम्राकारलाई रु ५ हजार तथा सुगतरत्न सिन्दुराकारलाई रु २ हजार पुरस्कार पनि प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्