Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


सामाजिक पुनःनिर्माणको काम सबैभन्दा कठिन : पोखरेल


0
Shares

शान्ति शिक्षा अभियान नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक पुनःनिर्माणको काम धेरै बाँकी रहेको उल्लेख गर्दै त्यसमा हरेक समुदाय र सामाजिक संघ–संस्थाको भूमिका आवश्यक र महत्वपूर्ण हुने बताए ।

सामाजिक, भौतिक र आर्थिक पुनःनिर्माणको कामलाई सँगै लिएर जान सकेमात्र सहि अर्थमा पुनःनिर्माण हुने पोखरेलको भनाइ थियो ।

‘पुनःनिर्माण ढिलो भयो भन्ने गुनासो छ तर पुनःनिर्माण ढिलो भयोभन्दा पनि राम्रो भयो कि भएन भन्ने महत्वपूर्ण हो’–पोखरेलले भने ।

कार्यक्रममा भूकम्पपछि ललितपुर, काठमाडौं, काभ्रेपलाञ्चोक र दोलखाका २२ ओटा विद्यालय पुनःनिर्माण गरिसकेको शान्ति शिक्षा अभियानले ललितपुरका जिल्ला शिक्षा कार्यालयअन्तर्गतका १५ ओटा स्रोत केन्द्रलाई ल्यापटप हस्तान्तरण गरेको थियो ।

ल्यापटप हस्तान्तरण गर्दै कार्यकारी अधिकृत पोखरेलले भने–‘सिंहदरबारले पुनःनिर्माणका लागि माहौल बनाउने हो । काम समुदाय, सामाजिक संघ–संस्था र व्यक्ति स्वयंले नै गर्ने हो ।’

विभिन्न व्यक्ति तथा संस्थाहरुको आर्थिक सहयोग जुटाइ शिक्षा क्षेत्रमा योगदान गर्दै आएको अभियानले ३ करोड रुपैयाँ पुनःनिर्माण तथा विद्यालय शिक्षामा खर्च गरेको संस्थाका अध्यक्ष रविन्द्र महर्जनले बताए ।

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा ललितपुरबाट प्रतिनिधित्व गर्ने सांसद मदन अमात्यले भूकम्पपछि शिक्षा क्षेत्र पुनःनिर्माणको चुनौती रहेको बताउँदै सरकारलाई यसमा गम्भीर भएर ध्यान दिन आग्रह गरे ।

अर्का सांसद चन्द्र महर्जनले निजी र सरकारी दुई किसिमको शिक्षाको अवस्थालाई न्यूनीकरण गर्न सामुदायिक विद्यालयको तहमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।