पोखरा, फागुन १६ । त्रिभुवन आर्मी क्लब १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको दाउफिन्स टिमलाई १–० ले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।
खेलको १३औं मिनेटमा टेकबहादुर बुढाथोकीले आर्मीलाई दिलाएको गोल नै निर्णायक बन्यो ।
मैदानको दायाँ भागबाट टंक बुढाथोकीले गरेको ‘लङपास’लाई ‘डी एरिया’मा रहेका उनले ‘हेड’मार्फत् सुन्दर गोल गरेका थिए ।
मध्यान्तरपछि आर्मीका नवयुग श्रेष्ठ र भरत खवासको प्रहार असफल भएको थियो ।
८५औं मिनेटमा दाउफिन्सका डेम्बा ओवुना दोहोरो पहेंलोकार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका दीपक गुरुङ घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पाए ।
आर्मीले अब उपाधिका लागि फाइनलमा शनिबार थ्रीस्टार क्लबसित खेल्नेछ । थ्रीस्टारले बुधबार भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एउटा स्कुटर जित्दा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पाउनेछन् ।
यस्तै, पाँच विधाका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्