१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


एउटै प्रदेशमा तीन महानगरपालिका, सरकारी मापदन्ड पूरा भएन


0
Shares

३ नम्बर प्रदेशमा काठमाडौं, ललितपुर र भरतपुर महानगरपालिका तथा ४ नम्बर प्रदेशमा पोखरा लेखनाथ महानगरपालिका निर्धारण गरिएको छ ।

जनसंख्यालाई आधार मान्दा सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका रहेको छ । ४९ दशमलव ४५ वर्ग किलोमिटर क्षेत्रफल तथा ३२ वडा कायम गरिएको यस महानगरपालिकाको जनसंख्या ९ लाख ७५ हजार रहेको छ ।

त्यस्तै, ४३२ दशमलव ९५ वर्ग किमी क्षेत्रफल रहेको भरतपुर महानगरपालिकामा २९ वडा रहेका छन् भने जनसंख्या दुई लाख ८० हजार रहेको छ ।

क्षेत्रफलको हिसाबले सबैभन्दा सानो ललितपुर महानगरपालिका हो । ३६ दशमलव १२ वर्ग किलोमिटर क्षेत्रफल तथा २९ वडा रहेको यस महानगरपालिकाको जनसंख्या दुई लाख ८४ हजार रहेको छ ।

त्यसैगरी, प्रदेश नम्बर–४ मा रहेको पोखरा लेखनाथ महानगरपालिका क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो हो । ३३ वडा भएको उक्त महानगरपालिकाको क्षेत्रफल ४६४ दशमलव २४ वर्ग किमी रहेको छ भने त्यहाँ चार लाख १४ हजार नागरिकको बसोबास रहेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङकाअनुसार महानगरपालिका हुनका लागि कम्तीमा तीन लाख जनसंख्या, रु ४० करोडभन्दा बढी वार्षिक खर्च हुनुपर्ने, प्रतिवडा ११ हजार जनसंख्या हुनुपर्ने सरकारी मापदन्ड रहेको छ ।

‘ललितपुर र भरतपुर महानगरपालिमा सरकारी मापदन्ड पूरा भएको पाइँदैन’–तामाङले भने ।

नेपाल नगरपालिका कर्मचारी संघका कार्यकारी सचिव कलानिधि देवकोटा पनि महानगरपालिकाले सरकारी मापदन्ड नै पूरा नगरेको बताउँछन् ।

‘सरकार आफैंले नियम बनाएपनि पालना गरिएको छैन’–उनले भने ।

सातओटा प्रदेशमा एक–एकओटा महानगर निर्माण गर्ने अवधारणासहित अघि बढ्नुपर्नेमा देवकोटाले जोड दिए ।

काठमाडौं महानगरपालिका यसअघि नै महानगर थियो । ललितपुर र लेखनाथ उपमहानगरपालिका थिए भने भरतपुर नगरपालिका थियो । त्यतिबेला २१७ नगरपालिका र तीन हजार १५७ गाविस रहेका थिए ।

सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी ७४४ स्थानीय तह घोषणा गरेको हो ।

जिविसलाई जिल्लाभित्रका नगरपालिका र गाउँपालिकासँग समन्वय गर्ने गरी जिल्ला समन्वय समितिमा परिणत गरिएको छ ।

नयाँ संरचनाअनुसार सरकारले चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका, ४८१ गाउँपालिका र वडाको संख्या ६ हजार ६८० पुगेको छ ।

विराटनगर, इटहरी, धरान, जनकपुर, हेटौंडा, जीतपुरसिमरा, कलैया, वीरगन्ज, बुटवल, तुल्सीपुर, घोराही, नेपालगन्ज र धनगढी उपमहानगरपालिका कायम गरिएको छ । रासस