Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य रोकियो, यस्तो छ ‘लफडा’ (भिडियो रिपोर्ट)


0
Shares

निर्माणकार्य रोकिएपछि विमानस्थलको भविष्यकाबारेमासमेत चिन्ता प्रकट हुन थालेको छ ।

भैरहवा विमानस्थल जसलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाकोरुपमा चिनिन्छ । ०२३ सालदेखि नियमित उडान भर्दै आएको विमानस्थलमा सन् २०१८ मा अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेगरी २०७१ साल माघ १ गतेका दिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आयोजनाको शिलान्यास गरेका थिए ।

तर, पछिल्लो एक हप्तायता निर्माणको जिम्मा लिएको मुख्य ठेकेदार चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप लिमिटेड चाइना र सब–कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल इन्फा प्रालिबीच लेनदेन विवाद भएपछि काम रोकिएको छ ।

यसले लुम्बिनी क्षेत्रका बासिन्दा भने चिन्तित भएका छन् ।

२०७४ जेठ १९ गतेभित्र निर्माण सकाउने गरी ठेक्का सम्झौता गरेको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप लिमिटेड चाइनाले आफूले प्राप्त गर्नेमध्ये ८० प्रतिशत रकम नेपाली कम्पनीलाई दिनेगरी सब–कन्ट्रयाक्टरकोरुपमा नर्थवेस्ट नेपाल इन्फा प्रालिलाई निर्माणको सबै जिम्मा दिएको थियो ।

यी दुई कम्पनीबीचको आन्तरिक सम्झौताअनुसार थालिएको काममा अहिलेसम्म २७ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

विमानस्थलसँग सरोकार राख्ने दातृसंस्था एडीबी, कन्सलट्यान्टको जिम्मा पाएको युसीन कोरियन कन्सलट्यान्ट र परियोजना क्यानले संयुक्तरुपमा मूल्यांकन गर्दा पनि २७ प्रतिशत काम भएको जनाइएको छ ।

चिनियाँ कम्पनीले क्यान र एडीबीबाट रकम बुझ्ने तर काम गर्ने सब– कन्ट्रयाक्टरलाई रकम नदिने गर्दा अहिले विवाद चुलिएको हो ।

नेपाली कम्पनी नर्थवेस्ट नेपाल इन्फा प्रालिले अहिलेसम्म चिनियाँ कम्पनीसँग करिब ५५ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गरेको छ । तर, यसै हप्ता क्यानबाट २ करोड, एडीबीबाट ६ करोड गरी कुल ८ करोड रकम बुझेको चिनियाँ कम्पनीले नेपाली कम्पनीलाई एक रुपैयाँ पनि नदिएपछि लेनदेनको विवाद सतहमा आएको हो ।

सबै भवनको जग निर्माण तथा जहाज पार्किङस्थल निर्माण पनि अन्तिम चरणमा पुगेको सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल इन्फा प्रालिका अध्यक्ष राजु गुरुङले बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

 

Skip This