बैठकमा संविधान संशोधन, स्थानीय तह निर्वाचन र पार्टीको आन्तरिक संगठन व्यवस्थापनलगायतका विषयमा छलफल गरिनेछ ।
बैठकमा सभापति देउवाले नेतृत्व लिएको एक वर्षमा संगठन झन् शिथिल भएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टी जनाउने देखिएको छ ।
देउवाले कांग्रेसको नेतृत्व लिएको यही चैत ५ देखि एक बर्ष भएको छ ।
दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसकेको, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत पार्टी संरचनालाई पूर्णता बनाउन नसकेको भन्दै पौडेल पक्षले आलोचना गर्दै आएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकसमेत नियमित गर्न नसकेको आरोप देउवामाथि छ ।
पौडेल समूहले त पार्टीलाई सामूहिक पद्धतिमा चलाउन माग राख्दै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति देउवालाई पत्र नै बुझाएका थिए ।
यद्यपि, यसै बैठकमार्फत केन्द्रीय कार्यसम्पादन समितिलाई पूर्णता दिने तयारीमा सभापति देउवा छन् ।
कार्यसमितिको मर्यादा क्रमअनुसार २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने र विभाग प्रमुखको जिम्मेवारी पनि तोक्न उनले नेता पौडेलसँग छलफल गरिसकेको बताइएको छ ।
स्थानीय तहको निर्वाचनको घोषणापत्र बनाउन समिति गठन, विभागको आवश्यक संख्या, निर्वाचन परिचालन सम्वन्धी बिषयलगायत विषयमा पनि छलफल हुने छ ।
पार्टी संरचना र विधानलाई प्रादेशिक संरचना अनुसार समायोजना गरिने तयारी पनि गरिँदै छ ।









प्रतिक्रिया दिनुहोस्