त्यहाँ आज उनले चिनियाँ व्यापारीसँग छलफल गर्नुका साथै बेइजिङ वैदेशिक अध्ययन विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
यसैगरी उनले सोही विश्वविद्यालयमा स्थापित नेपाली विषय अध्ययनको उद्घाटन गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री दाहालले भोलि चिनियाँ राष्ट्रपति सिन चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसैबीच, बेइजिङमा नेपाली दूतावासले गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
चीनले नेपालमा शान्ति र विकास चाहेकोप्रति उनले सराहना गर्दै चीन नेपालका लागि असल मित्र र असल साझेदार भएको उल्लेख गरे ।
पोआओ मञ्चमा सहभागिता, चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँगको भेटवार्ता जस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास प्रधानमन्त्रीको थियो ।
दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयनलाई अघि बढाउन नेपाल अग्रसर रहेको र नेपाल ‘एक क्षेत्र एक सडक’ अवधारणामा सहभागी हुन इच्छुक रहेको पनि प्रधानमन्त्रीले बताए ।
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चिनियाँ जनताप्रति नेपाली जनताको ठूलो सद्भाव रहेको उनको भनाइ थियो ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डललाई स्वागत गर्दै यस्ता उच्चस्तरीय नियमित भ्रमणले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन सहयोग पुग्ने बताए ।
सो अवसरमा चीन सरकारका उच्च अधिकारी, नेपालका मित्रहरु, चीनस्थित नेपाली समुदाय र नेपालका लागि चीनका पूर्वराजदूतहरु व्यापारी वर्ग तथा बौद्धिक समुदायको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री दाहाल बिहीबार चीनको हेनान प्रान्तको पोआओ शहर गएका हुन् ।









प्रतिक्रिया दिनुहोस्