२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


भरतपुर महानगरपालिकामा को–को छन् मेयरका आकांक्षी ?


0
Shares

साथै, एमाले पोलिटब्युरो सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको चुनावी क्षेत्र रहेको जिल्ला र राप्रपाका उपाध्यक्ष एवं मन्त्री विक्रम पाण्डेले निर्वाचन जितेको क्षेत्र नम्बर–५ समेत रहेको महानगरपालिका भएकाले पनि भरतपुरको निर्वाचन चर्चा शिखरमा पुगेको हो ।

चितवन क्षेत्र नम्बर–४ को पूरै भूभाग एवं क्षेत्र नम्बर–३ र ५ को आंशिक भूभागमा पर्ने भरतपुर महानगरपालिकामा एक लाख ५१ हजार मतदाता छन् ।

पहाडको कविलास गाउँदेखि प्रमुख सहर नारायणगढ हुँदै राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाटसम्मको क्षेत्र महानगरपालिकाले ओगटेको छ ।

महानगरमा परेको चितवन क्षेत्र नम्बर–४ मा विगतका निर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गर्दै आएको छ भने आंशिक क्षेत्र पर्ने क्षेत्र नम्बर–३ मा नेकपा एमाले र क्षेत्र नम्बर–५ मा राप्रपा एवं माओवादीले विजय हासिल गर्दै आएका छन् ।

त्यसैले पनि यो महानगरपालिकामा चारओटै दलको विजयी हुने दाबी भएपनि नेपाली कांग्रेस र नेकपा एमालेबीचमा कडा प्रतिस्पर्धा हुने विश्लेषण सुनिन्छ ।

भरतपुर महानगरपालिकामा एक नगर अध्यक्ष (मेयर)सहित एक १ सय ५० जनाप्रतिनिधि चयन हुनेछन् ।

चितवनलाई कांग्रेसले आफ्नो बलियो आधार क्षेत्रकारूपमा लिँदै आएको छ । पूर्वी चितवनमा कांग्रेसको पकड कम भएपनि पश्चिम चितवनमा भने कांग्रेसको प्रभाव बढी छ ।

सोही कारणले गर्दा पनि कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाले दोस्रो संविधानसभा निर्वाचनमा आफ्नो गृहजिल्ला बाँकेभन्दा पहिला चितवन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी घोषणा गरेका थिए । उनले भारी मतका साथ निर्वाचन जितेका थिए ।

क्षेत्र नम्बर–४ को सबै भूभाग भरतपुर महानगरपालिकाभित्र नै पर्छ । कांग्रेसको प्रभाव क्षेत्र भएका कारण जित्नसक्ने सम्भावना बलियो भएको दाबी गर्दै कांग्रेसबाट आकांक्षी पनि बढी देखिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलानिकटले आ–आफ्नै उम्मेदवारी दाबी गर्दै आएका छन् ।

त्यसो त तिनै नेताका समर्थक धेरै भएपछि आन्तरिकरुपमै मिलाउन कठिन देखिएको छ । देउवानिकट मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, पृथ्वीमान गुरुङ, ऋषि पाण्डे, दीर्घमान श्रेष्ठलगायतको दाबी रहेको छ ।

वरिष्ठ नेता पौडेलपक्षका प्रा. डा. सूर्यकान्त घिमिरे, टेकप्रसाद गुरुङ, विजयराज शर्मा भुसाल, शंकर कँडेल, राजेश्वर खनालको दाबी छ भने सिटौलानिकट दिनेश कोइरालाले पनि दाबी गर्दै आएका छन् ।

समूहभित्र नै मिलाउन कठिन देखिएको छ । पार्टीमा देखिएको तीन धारले गर्दा मेयरको टिकट कसले पाउने भन्ने विषय टुंगो नलागेको कांग्रेसका एक नेताले जानकारी दिए ।

पार्टीमा मेयर र उपमेयरका विषयमा अहिले कुनै प्रकारको निर्णय नभएको जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए । सहमतिमै उम्मेदवार चयन हुने उनको दाबी छ ।

नेकपा एमालेभित्र पनि भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार को बन्ने भन्नेमा दौडधुप सुरु भएको छ ।

कांग्रेसको प्रभाव क्षेत्र रहेको पश्चिम चितवनसहितको भूभाग समेटेर बनेको भरतपुर महानगरपालिकामा एमालेले कांग्रेसलाई नै आफ्नो प्रमुख प्रतिस्पर्धीकारुपमा उभ्याएको छ ।

नेकपा एमालेमा पनि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एवं बामदेव गौतमनिकटहरुले लविङ सुरु गरेका छन् ।

ओलीनिकट विजय सुवेदी, देवी ज्ञवाली, डा. तिलचन्द्र भट्टराई, पार्वती रावल, कृष्णप्रसाद भुर्तेललगायतको दाबी छ ।

नेपालपक्षका तेजेन्द्र खड्का, घनश्याम भट्टराई, अरुणपीडित भण्डारी, कृष्णराज न्यौपानेलगायतको दाबी रहेको छ भने गौतमपक्षका केशवलाल श्रेष्ठ पनि पछिल्लो समय चर्चामा आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको घर रहेको भरतपुर महानगरपालिकाभित्र माओवादी केन्द्रका लागि भरतपुर महानगरपालिको मेयर प्रतिष्ठाको विषय बन्दै गएको छ ।

प्रधानमन्त्री दाहालले चितवन जिल्लाका लागि हालै करोडौं बजेटको प्याकेज कार्यक्रम ल्याएपछि माओवादी केन्द्रमा अझै बढी उत्साह थपिएको छ ।

यसै क्षेत्रमा अध्यक्ष दाहालले आफ्नो निर्वाचन क्षेत्र बनाउने योजना बनाएकाले पनि माओवादीको मत सुरक्षित गर्न बलियो उम्मेदवार उठाउने माओवादी योजना रहेको छ ।

केन्द्रबाट महानगरपालिकाको मेयरमा नारायण दाहाल, सूर्य सुवेदी पथिक, घनश्याम दाहाल अविनाश, ऋषि पौडेल, मित्रराज दवाडीको नाम चर्चामा छ ।

दाहालले चाहेको व्यक्ति नै भरतपुर महानगरपालिकाका लागि माओवादी केन्द्रको उम्मेदवार बन्ने निश्चित छ ।

राप्रपाले जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालाई नै महानगरपालिको मेयरमा पठाउने चर्चा चलेको छ ।

तिमिल्सिनासँगै भरतपुर महानगरपालिकाका पार्टी प्रमुख विष्णुप्रसाद खरालले पनि मेयरमा उम्मेदवारीको आकांक्षा राखेका छन् ।

यद्यपि, यसै क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भइ मन्त्री एवं पार्टीका उपाध्यक्ष रहेका विक्रम पाण्डेको चाहनाबेगर मेयरको उम्मेदवार हुनसक्ने देखिँदैन ।

४३२ दशमलव ९५ वर्ग किमि क्षेत्रफल रहेको भरतपुर महानगरपालिकामा २९ वडा रहेका छन् भने जनसंख्या दुई लाख ८० हजार रहेको छ । मतदाता एक लाख ५१ हजार ६ सय ४१ जना रहेका छन् । महानगरपालिकामा झन्डै ४० प्रतिशत जनजाति बाहुल्य छ ।

चितवन जिल्लामा २४ ओटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् ।

चितवन जिल्लामा रहेका १६१ ओटा मतदानस्थलमध्ये भरतपुर महानगरपालिकामामात्रै ६५ स्थल रहने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए ।